काठमाडौं, माघ १३ :

समावेशी शिक्षा प्रवर्द्धनका लागि नेपाल र कोरियाबीच विशेष शिक्षा, सहायक प्रविधि तथा विद्यालय नेतृत्वसम्बन्धी व्यवहारिक अनुभव आदान–प्रदान गरिएको छ । लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेशनल कोअपरेसन (लुपिक) को आयोजनामा काठमाडौंमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेपालका विशेष विद्यालयका प्रधानाध्यापकहरू सहभागी थिए ।

कार्यक्रममा शारीरिक अपाङ्गता भएका विद्यार्थीहरूका लागि कोरियाली विद्यालयहरूमा लागू गरिने पाठ्यक्रम संरचना, शिक्षण विधि तथा सहायक प्रविधिको प्रयोगबारे जानकारी गराइएको थियो ।

कोरियाको डेगु हेल्थ स्कूलका प्रधानाध्यापक ली सिओक जेले शारीरिक अपाङ्गता भएका विद्यार्थीहरूका लागि कोरियाली विद्यालयहरूमा लागू हुने पाठ्यक्रम संरचना, शिक्षण सामग्री तथा शिक्षण विधिबारे अनुभवमा आधारित प्रस्तुति दिए । उनले पाठ्यक्रम योजना, शिक्षण डिजाइन तथा विद्यालयस्तरीय सहयोग प्रणालीहरूलाई दैनिक शैक्षिक अभ्याससँग कसरी एकीकृत गरिन्छ भन्ने विषयमा विशेष जोड दिए ।

यस्तै, लुपिकका निर्देशक प्राध्यापक जङ डे यङले चुनौतीपूर्ण शैक्षिक वातावरणमा कार्यरत नेपाली विशेष विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको समर्पणको प्रशंसा गरे । उनले यो कार्यशाला कोरियाली मोडेलहरूको एकतर्फी हस्तान्तरणका लागि नभई अन्तर्राष्ट्रिय अनुभवहरूको समालोचनात्मक समीक्षा र नेपाली सन्दर्भअनुकूल रूपान्तरणका लागि सहकार्यात्मक मञ्चका रूपमा आयोजना गरिएको स्पष्ट पारे । साथै उनले नेपालमा विशेष शिक्षाको दिगो विकासका लागि सहभागीहरूलाई संयुक्त रूपमा मार्ग खोज्न आग्रह गरे ।

 

यसैगरी, विशेष विद्यालय तथा पुनर्स्थापना केन्द्रकी प्रधानाध्यापक सविता उप्रेतीले विद्यालय सञ्चालन योजना प्रस्तुत गरिन् । उनका अनुसार उक्त योजनाले विद्यालयहरूलाई वार्षिक चक्रमा शैक्षिक गतिविधिहरूको योजना, कार्यान्वयन तथा अनुगमन गर्न संरचित मार्गदर्शन प्रदान गर्दछ । साथै विद्यालय सञ्चालन योजनाले पाठ्यक्रम कार्यान्वयन, विद्यार्थी सहयोग सेवा, शिक्षकको भूमिका तथा स्रोत व्यवस्थापनलाई एकीकृत गर्दै विद्यालय आत्म–मूल्याङ्कन र जवाफदेहिताका लागि प्रमाणमा आधारित उपकरणको रूपमा समेत सहयोग पुर्‍याउने बताए ।

कार्यक्रममा लुपिक परियोजना टोलीकी परियोजना प्रबन्धक किम युनयङले विद्यालय नेतृत्व र व्यवस्थापन अभ्यासको विकासमा जोड दिइन् ।कार्यक्रममार्फत लुपिकले दिगो विकास लक्ष्य–४ र युनेस्कोको समावेशी शिक्षासम्बन्धी दृष्टिकोणअनुसार समावेशी, समतामूलक र गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ ।

 

कार्यक्रममा वेयरेबल रोबोट सहायतामा आधारित चाल–प्रशिक्षण तथा शैक्षिक कार्यक्रमबारे पनि जानकारी गराइएको थियो । डेगु हेल्थ स्कूलका उदाहरणहरू प्रस्तुत गर्दै शारीरिक अपाङ्गता भएका विद्यार्थीहरूका लागि रोबोटिक प्रविधिलाई शैक्षिक कार्यक्रममा कसरी एकीकृत गरिएको छ भन्ने विषयमा प्रकाश पारिएको थियो । 

यी कार्यक्रमहरू वेयरेबल रोबोटिक प्रणालीमा विशेषज्ञता हासिल गरेको कोरियाली कम्पनी एन्जेल रोबोटिक्ससँगको सहकार्यमा सञ्चालन गरिँदै आएका छन् । यस पहलले सहायक प्रविधिले शारीरिक कार्यक्षमता अभिवृद्धि गर्नुका साथै विद्यार्थीहरूको सिकाइमा संलग्नता, आत्मनिर्भरता र स्व–एजेन्सी प्रवर्द्धन गर्न सक्ने क्षमता स्पष्ट रूपमा देखाएको आयोजकले जनाएको छ । शैक्षिक नवप्रवर्तनसँगै कार्यक्रममा विद्यालय नेतृत्व तथा व्यवस्थापन अभ्यासहरू पनि समेटिएका थिए ।