
हिन्दु तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तीर्थस्थल मुक्तिनाथ मन्दिर क्षेत्रमा बाक्लो हिमपात भएको छ । गएरातिदेखि लगातार भइरहेको हिमपातले मुक्तिनाथ मन्दिरसहित आसपासका क्षेत्र हिउँले छपक्कै छोपेको छ । यसवर्ष मुक्तिनाथ मन्दिरमा कात्तिक महिनाको दोस्रो सातापछि सबैभन्दा भारी हिमपात भएको छ ।
लगातारको हिमपातका कारण मुक्तिनाथ दर्शनका लागि गएका तीर्थालुसहित पर्यटकहरू रानीपौवा क्षेत्रमा रोकिएको छन् । हिमपातका कारण मन्दिरको पदमार्गस्थल, मन्दिर परिसर तथा आसपासका क्षेत्रमा पैदलयात्राका लागि समस्या भएकाले भक्तजनलाई रानीपैवा क्षेत्रमै रोकिएको प्रहरीले जनाएको छ ।
मन्दिरमा रहेको १०८ धारा, कुण्ड, मन्दिर लगायतका क्षेत्र हिउँले छोपेको छ । बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने थासाङ, घरपझोङर वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा वर्षासहित हिमपात हुदाँ जनजीवन कष्टकर बनेको छ। कागबेनी–लोमान्थाङ हुँदै कोरला सडक समेत हिमपात भएकाले पूर्णरुपमा अवरुद्ध भएको छ ।