काठमाडौं, माघ १८ :

अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ स्थापना दिवसको अवसरमा विशिष्ट व्यक्तिहरूलाई अभिनन्दन गरिएको छ । बौद्धस्थित अरुणिमा विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. अभि सुवेदी, प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गाना लगायतले मुलुकका विशिष्ट व्यक्तिहरुलाई सम्मान गरेका हुन्।

कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याल, न्यूज २४ दैनिकका प्रधान सम्पादक नवराज चालिसे, समाजसेवी नेपालजित लामा, सर्वजित लामा र  खड्गजित लामा तथा त्रि.वि. केन्द्रीय पुस्तकालय प्रमुख सागरराज सुवेदीलाई सम्मान गरिएको थियो । साथै शिक्षक हर्ष नारायण झा र कर्मचारी मञ्जु अधिकारी ढकाललाई बीस वर्षे दीर्घसेवा सम्मानद्वारा अभिनन्दन गरियो । सोही समारोहमा विद्यालयको प्रथम ब्याच (२०५१) एस.एल.सी ग्राजुएट्सहरू प्रविण न्यौपाने, विन्दिया मानन्धर, मनिष खनाल, सुलक्षण शर्मा,सरोज सुवेदी, गजेन्द्र कर्माचार्य र मेनुका गुरुङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्या‍एको योगदानको उच्च कदर गर्दै अभिनन्दन गरियो ।

त्यसअवसरमा प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले प्रतिष्ठान मार्फत सञ्चालित शैक्षिक निकायहरूको कार्यक्रम तथा तिनको प्रभावकारिता बारे प्रष्ट पारे।

यसैगरी अभिनन्दित व्यक्तित्व नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्यालले प्रतिष्ठानको स्थापना दिवसको उपलक्षमा शुभकामना व्यक्त गर्दै अरुणिमाले आफ्ना विद्यार्थीहरूलाई गुणस्तरीय तथा जीवनोपयोगी शिक्षा प्रदान गरिरहेकोमा खुलेर प्रशंसा गरे। 

कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सचिव पाराश्वर ढुंगानाले अरुणिमासँग सम्बन्धित अग्रजहरूसँगको साक्षात्कारबाट आफ्नो कार्यक्षेत्रको कार्यसम्पादनमा थप हौसला मिलेको विचार व्यक्त गरे । 

अरुणिमा अलम्नाईका अध्यक्ष तथा अरुणिमा परोपकार प्रतिष्ठानका सचिव जितेन्द्र श्रेष्ठले सम्भ समाज निर्माणमा गुण्स्तरीय शिक्षाको महत्वबारे प्रकाश पारे । प्रतिष्ठानका अध्यक्ष  भीमानन्द ढुङ्गानाले प्रतिष्ठान गैर नाफामूलक रूपमा सञ्चालन भइरहेको जानकारी गराउँदै  समय सापेक्ष योजना तर्जुमा गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा विद्यार्थीहरूले आर्कषक गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।