जिल्ला प्रशासन कार्यालय भक्तपुरले विभिन्न औषधि पसल (फार्मेसी) हरुलाई कारबाही गरेको छ ।
भक्तपुरका सहायक जिल्ला प्रमुख अधिकारी डोलेन्द्रप्रसाद निरौलाको नेतृत्वमा उद्योग तथा वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय, औषधि व्यवस्था विभाग, नेपाल प्रहरी, उद्योग वाणिज्य सङ्घ सहितको टोलीले सुरु गरेको औषधि पसलहरूको अनुगमनमा अवैध रुपमा सञ्चालितलाई कारबाही गरेको हो ।
अनुगमनका क्रममा भक्तपुर नगरपालिका- १ दूधपाटीमा सञ्चालित समृद्धि फार्मेसीबाट ३० हजार बराबरका औषधि जफत गरी १० जरिवाना गरिएको उहाँले प्रजिअ निरौलाले जानकारी दिनुभयो ।
उक्त फार्मेसीले औषधि व्यवस्था विभागमा दर्ता नवीकरण नगरेको, तोकिएको तापक्रममा राख्नुपर्ने औषधिलाई जथाभावी राखिएको, निर्धारित मूल्यभन्दा बढी मूल्य लिएर बिक्री गरेको पाइएपछि मिति नाघेका औषधि नष्ट गर्नुका साथै जरिवाना तिराइएको हो ।
त्यस्तै, दूधपाटीकै न्यातापोल फार्मेसीले औषधिको बिल देखाउन नसकेपछि कारबाही स्वरुप पाँच हजार जरिवाना लगाएको छ । खरिद बिल र बिक्री बिल देखाउन नसकेको उक्त फार्मेसीले तापक्रम मिलाएर राख्नुपर्ने औषधि जथाभावी राखेको र मिति नाघेका ५० हजार बराबरको औषधि बिक्रीमा राखेको पाइएपछि उक्त औषधि जफत गरी नष्ट गरेको छ ।
त्यसैगरी, सोही ठाउँका मेरिल्यान्ड फार्मेसी एन्ड क्लिनिकले अनुमति नै नलिई अकुपञ्चर सेवा सञ्चालन गरेको पाइएको छ । टोलीले अनुमतिपत्र लिएर मात्रै अकुपञ्चर सेवा सञ्चालन गर्न, साइनबोर्ड राख्न, सेवा शुल्कको लिस्ट बनाएर देखिने गरी राख्न १५ दिनभित्र जनस्वास्थ्य कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ ।
त्यहीको भीमेश्वर फार्मेसीलाई औषधिको बिल काट्दा म्यादसमेत उल्लेख गर्न निर्देशन दिएको छ ।
सूर्यविनायक नगरपालिका- ६ पाण्डु बजारको कल्पना फार्मेसीले औषधि विभागमा दर्ता नै नभएको औषधि बिक्रीमा राखेको पाइएपछि एक हजार ५०० बराबरको औषधि नष्ट गरेको छ ।
सोही ठाउँको मातृभूमि फार्मेसीले पनि बिग्रिएको फ्रिजमा औषधि राखेको पाइएपछि त्यहाँका औषधि जफत गरी नष्ट गरिएको छ । टोलीले सूर्यविनायक नगर अस्पतालमा नेपाल सरकारले तोकिएको सबै औषधि राख्न निर्देशन दिएको छ ।
अनुगमन नियमित रहने जनाउँदै सहायक प्रजिअ निरौलाले अधिकांश औषधि पसलमा औषधिहरू तापक्रम मिलाएर नराखेको, जथाभावी औषधि बिक्री गरेको, म्याद गुज्रेका औषधि बिक्रीमा राखेको पाइएको भन्दै मानवीय स्वास्थ्य माथि खेलबाड गर्ने औषधि पसललाई अब कडा कारबाही गरिने बताउनुभयो ।