काठमाडौं, जेठ १५ :

प्रधानमन्त्री बालेन्द्र शाह १८ दिनपछि पुनः संसद् बैठकमा देखिए । विपक्षी दलहरुले रोइलो गर्दा पनि संसद् भवनमा टेक्न नगएका प्रधानमन्त्री शाह बजेट भाषणका क्रममा भने देखिएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा  बीचमै उठेर बाहिरिएका प्रधानमन्त्री शाह त्यसयता संसद् बैठकमा गएका थिएनन् । बजेट भाषणका क्रममा भने उनी पूरै समय आफ्नो कुर्सीमा बसे। गणतन्त्र दिवस समारोहमा दौरा सुरुवा लगाएर सहभागी भएका प्रधानमन्त्री शाह संसद् बैठकमा भने कालो टिसर्ट, कोट पाइन्ट गराएर पुगेका थिए ।

प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम चाँडै सुरु गर्न माग गरिरहेका बेला शाहको पुनरागमनलाई राजनीतिक रूपमा पनि चासोका साथ हेरिएको छ। अब आगामी बैठकहरूमा उनी नियमित रूपमा उपस्थित हुन्छन् कि हुँदैनन् भन्ने प्रश्न भने कायमै छ।

बजेट भाषण सकिएपछि शाह सांसदहरूसँग भेटघाट र फोटो खिच्न व्यस्त देखिएका थिए।  संसद् परिसरमा शाहले लगाएको सेतो गोल्डस्टार जुत्ताले पनि ध्यान खिच्यो। उनले रास्वपाकी सांसद तथा गोल्डस्टारकी प्रमुख विदुषी राणासँग हात मिलाउँदै “मैले पनि गोल्डस्टार लगाएको छु” भन्दै स्वदेशी उत्पादनप्रतिको आफ्नो रुचि देखाए। प्रधानमन्त्री शाहले लगाएको सेतो जुत्ताको चर्चा निकै चलेको छ ।

पछिल्लो समय शाहले नेपाली उत्पादनको प्रयोगलाई सार्वजनिक रूपमा प्राथमिकता दिँदै आएका छन्। केही दिनअघि मात्रै उनले डीडीसीको चिज खाएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए।