काठमाडौं, असार १२ :

राष्ट्रिय सभामा नेकपाकी सांसद रेणु चन्दले सरकारले सुकुम्बासीहरूको उचित व्यवस्थापन नगरी हटाउने कार्य गरिरहेको भन्दै त्यसको आलोचना गरेकी छन्।

शुक्रबार  शून्य समयमा बोल्दै सांसद चन्दले सरकारले सुकुम्बासीहरूलाई 'होल्डिङ सेन्टर' बाट हटाउने काम गरिरहेको उल्लेख गर्दै उनीहरूको उचित व्यवस्थापन सुनिश्चित गर्नुपर्ने माग राखिन्। व्यवस्थापनको विकल्प नदिई सुकुम्बासीहरूलाई हटाउन नपाइने उनको भनाइ थियो।

उनले वर्तमान सरकारमा वैचारिक स्पष्टता तथा ‘कन्सेप्चुअल क्लारिटी’को अभाव रहेको आरोप पनि लगाइन्। सरकार सीमासम्बन्धी विषयमा गैरजिम्मेवार टिप्पणी गर्ने, संघीयतासँग खेलवाड गर्ने तथा प्रधानमन्त्री सामाजिक सञ्जाल फेसबुकमा रमाएर बस्ने गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन्।

सांसद चन्दले सरकार जनताका आधारभूत समस्याप्रति संवेदनशील बन्नुपर्ने र विशेषगरी सुकुम्बासीहरूको सम्मानजनक तथा दीर्घकालीन व्यवस्थापन सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।