काठमाडौं, असार १६ :

 प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले तथ्य तथ्याङ्कसहित संक्षिप्त प्रतिवेदन समितिलाई उपलब्ध गराउन निर्देशन दिइएकोमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनमा अपेक्षित विषय उल्लेख भएको नपाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

समितिको यहि असार ५ गते बसेको बैठकले तथ्य र तथ्याङ्क सहितको प्रतिवेदन पेश गर्न बैंकलाई निर्देशन दिएको थियो । तर निर्देशन बमोजिम अपेक्षित विषय उल्लेख नै नगरी प्रतिवेदन प्राप्त भएकाले यसअघिको निर्देशन बमोजिम माग गरिएका विषय स्पष्ट खुलाई पुनः प्रतिवेदन समितिलाई उपलब्ध गराउन निर्देशन दिने निर्णय भएको समिति सभापति कृष्णहरि बुढाथोकीले जानकारी दिए ।

बैठकमा समिति सदस्यहरुले राष्ट्र बैंकको प्रतिवेदन अपूर्ण भएकाले पुनः प्रतिवेदन माग गर्नुपर्ने धारणा राखेका थिए । बैठकले मौद्रिक नीतिका सन्दर्भमा विज्ञ र सरोकारवालाहरुसंग छलफल गर्ने निर्णय समेत गरेको छ ।