
काठमाडौं, भदौ ८ :
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घर खानतलासी गर्नुको कारणबारे लिखित जवाफ पेस गर्न सर्वोच्च अदालतले प्रहरीलाई आदेश दिएको छ। सोमबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले प्रसाईंकी पत्नी उमा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै बाटोको म्यादबाहेक २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न विपक्षीका नाममा आदेश जारी गरेको हो।
सर्वोच्चले प्रसाईंको घर खानतलासीका क्रममा बरामद गरिएका सामानसहित अदालतमा उपस्थित हुनसमेत प्रहरीलाई आदेश दिएको छ। यही भदौ ४ गते प्रहरीले प्रसाईंको घरमा खानतलासी गरेको थियो। त्यहाँबाट बरामद गरिएको ल्यापटप र मोबाइल लगायतका अन्य सामग्रीहरु परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाइएको छ ।