काठमाडौं, भदौ १७ :

भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकाहरूको तस्बिर महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसरमा टाँसिएको छ। बेपत्ता आफन्तको पहिचान तथा खोजीका लागि दैनिक सयौँ मानिस अस्पताल परिसरमा पुग्ने गरेका छन्।

अस्पताल पुगेका आफन्तजन परिसरमा टाँसिएका बेपत्ता व्यक्तिहरूका तस्बिर नियाल्दै आफ्ना आफन्तको पहिचान गर्ने प्रयास गरिरहेका छन्। कतिपयले तस्बिर मोबाइलमा कैद गर्दै उनीहरू छिट्टै सकुशल भेटिने आशा लिएर फर्किने गरेका छन्।

बाढीमा बेपत्ता भएका आफ्ना परिवारका सदस्यको खोजी, उद्धार र पहिचान हुने आशामा आफन्तजन अस्पताल परिसरमै पर्खिरहेका छन्। लामो समयसम्म आफन्तको अवस्था थाहा नहुँदा उनीहरू चिन्तित देखिन्छन्।

भोटेकोशी बाढीमा परी हालसम्म ३ हजार ९१६ जना सम्पर्कविहीन भएको जनाइएको छ। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेकाले आफन्तहरू आफ्ना मानिस सकुशल भेटिने आशामा पर्खाइमा छन्। घुमघाम तथा काम विशेषले बाढी प्रभावित क्षेत्रमा पुगेका मानिसका आफन्तजनहरु यतिखेर निकै चिन्तित र त्रसित छन् ।