सशस्त्र प्रहरी बलका निलम्बित एआईजी वंशीराज दाहाललाई कारबाहीको सिफारिस भएको छ। गोप्य सुरक्षा सूचना चुहाएको आरोप खेपिरहेका दाहाललाई सेवाबाट बर्खास्त गर्नेसम्मको कारबाही सिफारिस भएको छ। अर्का एआईजी अञ्जनीकुमार पोखरेलले बिहीबार गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा कारबाहीको सिफारिस भएको हो ।
उनलाई निलम्बन गरेर छानबिन सुरु गरिएको थियो। प्रतिवेदनमा एआईजी दाहालले आचरण विपरीतको कार्य गरेको निष्कर्षसहित सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार कारबाही गर्न सिफारिस गरिएको छ।
नियमावलीको दफा ११० मा सामान्य र विशेष सजायसम्बन्धी व्यवस्था छ । निलम्बित एआईजी दाहालसँग पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको सम्बन्ध , विचौलिया इनम सापकोटासँग नियमित रुपको सम्पर्कबारे सोधिएको थियो । जवाफमा दाहालले आचरणविपरीतको कुनै कार्य आफूले नगरेको दाबी गरेका छन्। उनी यही असोज २७ गतेबाट नियमित अवकाशमा जाँदै थिए ।