काठमाण्डौं, साउन २६ :

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक टीआरसी विधेयक आगामी संसद्को  बैठकमा पेस गर्न आग्रह सहित कानुन, न्याय तथा मानवअधिकार समितिले सभामुख देवराज घिमिरेलाई पत्राचार गरेको छ ।

सो समितिको बिहीबार बसेको बैठकबाट टीआरसी विधेयक माथि दफावार छलफल भई पारित भएसँगै समितिका सभापति विमला सुवेदीले प्रतिनिधि सभाको आगामी बैठकमा पेस गर्न पत्राचार गर्नुभएको हो । 

समितिमा विचाराधीन रहेको विधेयक शीर्ष तहका नेताहरु बीचमा सहमति भएपछि  समितिको बिहीबारको बैठकबाट पास भएको हो ।

२०८० साल वैशाख १५ गते बसेको प्रतिनिधि सभाको बैठकबाट दफावार छलफलका लागि उक्त विधेयक समितिमा पठाइएको थियो । 

प्रतिनिधि सभाको आगामी बैठक यही साउन २९ गते मंगलबार बस्ने कार्यक्रम छ ।