शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार स्वास्थ्य

नेपालमा विश्वका आँखा सेवा प्रदायक संस्थाहरूको अन्तर्राष्ट्रिय सम्मेलन हुने

· सोमबार, १६ पुस, २०८१ मा प्रकाशित
नेपालमा विश्वका आँखा सेवा प्रदायक संस्थाहरूको अन्तर्राष्ट्रिय सम्मेलन हुने
काठमाण्डौँ , पुस १६ :

नेपालमा विश्वका आँखा सेवा प्रदायक संस्थाहरूको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । 

इन्टरनेसनल एजेन्सी फर ‘द’ प्रिभेन्सन अफ ब्लाइन्डनेस (आइएपिबी) द्वारा आयोजना हुने ‘इन्साइट लाइभ, नेपाल’ नामक अन्तर्राष्ट्रिय सम्मेलन वि. सं २०८२ वैशाख १६ देखि १८ गतेसम्म  काठमाण्डौँमा  हुन लागेको हो । 

सम्मेलनमा विश्वभरका अन्धोपन निवारण तथा आँखा स्वास्थ्य क्षेत्रमा कार्यरत आइएपिबीका सदस्य संस्थाका प्रतिनिधि सहभागिता हुनेछन् । आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय परोपकारी संस्था, आँखा अस्पताल, शैक्षिक संस्थान, व्यावसायिक सङ्घ र कर्पोरेट संस्था मुख्यतया आइएपिबिका सदस्य रहन्छन् । 

नेपालमा आइएपिबीका सदस्य संस्थामा नेपाल नेत्रज्योति सङघ, नेपाल आँखा अस्पताल, तिलगङ्गा आँखा प्रतिष्ठान र बिपी आई फाउण्डेशन रहेका छन् ।

विश्वभरिका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाको छाता सङ्गठनका रुपमा रहेको आईएपिबीले अन्तर्राष्ट्रिय रुपमा आँखा स्वास्थ्यको क्षेत्रमा वकालत गर्दै आइरहेको छ । 

आँखा स्वास्थ्य क्षेत्रमा विश्वव्यापी रुपमा सहकार्यलाई प्रवद्र्धन गर्ने, नेतृत्वलाई प्रेरित गर्ने र वकालतलाई सशक्त बनाउने हेतुले हरेक वर्ष विभिन्न देशमा विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने गर्दछ । 

सन् २०२४ को आईएपिबी  सम्मेलन मेक्सिकोमा आयोजना गरिएको थियो । आईएपिबीको दक्षिण पूर्वी एसियाका प्रमुख युद्धध्वज सापकोटाका अनुसार नेपालमा आयोजना हुने सम्मेलनमा करिब एक सय राष्ट्रका ५०० जनाले सहभागिता जनाउनेछन् ।

नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले सम्मेलनमा विशेषगरी सन् २०३० सम्ममा विश्वमा आँखा स्वास्थ्यका क्षेत्रका लागि आवश्यक रणनीति तथा योजनाका विषयमा छलफल हुने जानकारी दिनुभयो। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार