काठमाडौँ, साउन २८ :

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ ।

ललितपुरको सानागाउँस्थित थसी बैंक्वेटमा साउन ३० गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।

बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, पार्टीको वैचारिक एवं सैद्धान्तिक अवधारणा तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता विषयमा छलफल हुनेछ ।

त्यस्तै बैठकमा राष्ट्रिय महाधिवेशनले तय गरेको पार्टीको वैचारिक, सैद्धान्तिक, अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक अवस्थाबारे छलफल हुने कार्यसूची रहेको जसपा नेपालले जनाएको छ ।

स्थानीय तह, प्रदेशसभा र संसद्मा पार्टीको भूमिका, पार्टी विस्तार तथा सुदृढीकरण कार्ययोजना सम्बन्धमा पनि छलफल हुने जनाइएको छ ।