काठमाडौँ, साउन २८ :

संघीय संसद र राष्ट्रिय सभा अन्तर्गत आज विभिन्न पाँच समितिका बैठक बस्दैछन् । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, राज्य व्यवस्था तथा सुशासन, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार, विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका बैठक बस्न लागेका हुन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्दै छ । बैठकमा तारागाउँ विकास समिति र तारागाउँ रिजेन्सी होटल्स लिमिटेडका सम्बन्धमा छलफल हुने जनाइएको छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे बोलाइएको छ । सिंहदरबारमा बस्ने बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी  दिउँसो १ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ । बैठकमा बाढी, पहिरो लगायतका मनसुनजन्य घटना एवं विपद व्यवस्थापन सम्बन्धमा भएका काम कारबाही तथा भावी कार्ययोजना, सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनको निष्कर्ष र कार्यान्वयन कार्ययोजनालगायतका विषयमा छलफल हुने समिति सभापति सोनाम गेल्जेन शेर्पाले जानकारी दिनुभयो 

दिउँसो २ बजे सिंहदरबारमा बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको समिति सभापति जयन्ती देवी राईले बताउनुभयो ।

आज दिउसो २ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक नीतिका सन्दर्भमा समितिको कार्यक्षेत्र र सीमा सम्बन्धमा राष्ट्रियसभाका सचिवसँग छलफल गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।