काठमाडौं, पुस २३ :

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलन मात्र नभएर  सामाजिक र आर्थिक रुपान्तरणमा नेपाली पत्रकारिता क्षेत्र र नागरिक संस्थाका हैसियतले नेपाल पत्रकार महासंघले पुर्‍याएको योगदान सराहनीय भएको बताएका छन् ।

नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीको स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रको सृदृढीकरण र स्थायित्व पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्ने सुझाए । उनले भने, ‘स्वतन्त्र र निष्पक्ष एवं व्यावसायिक पत्रकारिता तथा जनताको सूचनाको हक लोकतन्त्रको आधार स्तम्भ भएकाले नै हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई मौलिक हकका रुपमा प्रत्याभूत गरेको छ । त्यहीभएर लोकतन्त्रको सृदृढीकरण र यसको स्थायित्व पनि पत्रकारहरूको मूख्य लक्ष्य हुनुपर्छ भन्ने म ठान्दछु ।’

उनले सूचना-प्रविधिको तीव्र विकाससँगै समाचारको विषयवस्तु, सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा आएको परिवर्तनले पाठकको सही सूचना पाउने चाहना पूरा गर्न सहज भएको बताउँदै योसँगै सूचना प्राप्ति र सम्प्रेषणमा सजिलो भएसँगै छिटो सूचना दिने होडबाजीमा मिथ्या सूचना प्रवाह हुन सक्ने र त्यसले समाजलाई दिग्भ्रमित पार्न सक्ने खतरातर्फ आमसञ्चारका माध्यमहरू सचेत हुन जरुरी रहेको धारणा राखे ।

‘सूचना-प्रविधिको तीव्र विकाससँगै समाचारको विषयवस्तु, सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा आएको परिवर्तनले पाठकको सही सूचना पाउने चाहना पूरा गर्न जति सहज बनेको छ । सँगै यस क्षेत्रमा नयाँ नयाँ चुनौती पनि थपिँदै गएको छ,’ उनले भने, ‘नागरिक पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । यसले सूचना सम्प्रेषण र प्राप्तिमा सजिलोसँगै छिटो सूचना दिने होडबाजीमा मिथ्या सूचना प्रवाह हुन सक्ने र त्यसले समाजलाई दिग्भ्रमित पार्न सक्ने खतरातर्फ आमसञ्चारका माध्यमहरू सचेत हुन जरुरी देखिएको छ ।’

उनले उपलब्ध नवीनतम सूचना प्रविधिको अधिकतम प्रयोगसँगै राज्यको चौथो अंगका रुपमा रहेको  सञ्चारमाध्यमले स्वतन्त्र, निष्पक्ष र वस्तुनिष्ठताजस्ता व्यावसायिक धर्मको अधिनमा रही सत्यको अन्वेषण र सत्यको सम्प्रेषणमा वर्तमानमा देखिएका चुनौतीहरुलाई चिर्दै सत्यतथ्य सूचना सम्प्रेषणमा कुनै कसर बाँकी नराख्नेमा आफू विश्वस्त रहेको स्पष्ट पारे ।
 
राष्ट्रपति पौडेलले श्रमजीवी पत्रकारको हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र व्यवसायिक पत्रकारिताका लागि नवनिर्वाचित नेपाल पत्रकार महासंघको कार्यसमितिले आगामी दिनमा अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गरे ।