
भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाण्डौँ आइपुग्नुभएको छ । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको निमन्त्रणामा विदेशसचिव मिस्री नेपाल आउनुभएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले उहाँलाई स्वागत गर्नुभयो । दुवै देशका परराष्ट्र सचिवबीच नेपाल-भारत सम्बन्ध र पारस्परिक हितका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतका विदेशसचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
भारतका विदेशसचिवको यो नियमित भ्रमण भएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँको यो भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै भारतको ‘छिमेक पहिलो नीति’अन्तर्गत नेपालसँगको सम्बन्धलाई भारतले दिएको प्राथमिकतालाई प्रतिविम्बित गरेको कूटनीतिक क्षेत्रका जानकारहरूले बताएका छन् ।
विदेशसचिव मिस्री भोलि स्वदेश फर्कनु हुनेछ ।
फोटोः नेपालस्थित भारतीय दुतावास