काठमाडौँ, साउन २८ :

उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक-सामाजिक परिवर्तनमा युवाको भूमिका आवश्यक रहेको बताउनुभएको छ । 

अन्तर्राष्ट्रिय युवा दिवस, २०२४ का अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले युवालाई सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गर्नुभयो ।

जिम्मेवारी र दायित्वबाट पन्छिएर आरोपप्रत्यारोपबाट मात्रै प्रगति हुन नसक्ने उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले एकताबद्ध भएर आर्थिक-सामाजिक रुपान्तरणमा लाग्नुपर्ने बताउनुभयो । केही परिवर्तन भएन भन्नुभन्दा पहिला र अहिलेको अवस्था तुलना गरेर हेर्नुपर्ने भन्दै उहाँले शिक्षा, स्वास्थ, रोजगार, यातायात, डिजिटल प्रविधिको क्षेत्रमा धेरै विकास भैसकेको स्मरण गराउनुभयो ।

उहाँले राम्रो सोचबाट काम गरेर अवस्था परिवर्तन गर्न सकिने बताउँदै युवाहरु सकारात्मक परिवर्तनमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

अन्तर्राष्ट्रिय युवा दिवस, २०२४ का अवसरमा नेपाल युवा संस्था सञ्जालले १२ बुँदे माग समेटेर जारी गरेको घोषणापत्रमा धेरै कुरालाई लक्षित गरिएको उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले माग सम्बोधन गर्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘भिजन २०२५’ का बारेमा आवश्यक छलफल गरेर काम गर्ने तथा भदौ महिनाभित्रै राष्ट्रिय युवा नीति जारी हुने गरी मन्त्रालयले तयारी गरिरहेको जानकारी दिनुभयो । विकृति र विसङ्गति अन्त्य गर्नेगरी डिजिटल प्रविधिलाई उपयोग गर्न उहाँले आग्रह गर्नुभयो । 

बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले प्रविधिको युगमा युवाहरु निराश हुनुपर्ने अवस्था नरहेको भन्दै देशभित्रै भविष्य खोज्न लाग्नुपर्ने बताउनुभयो । 

मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अन्तर्राष्ट्रिय युवा दिवसले युवाको सक्रियतामा विश्वव्यापी छलफल, बहस र दिगो विकास लक्ष्यका लागि साझा थलोको परिकल्पना गरेको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य जयबहादुर टण्डनले देशको प्राकृतिक स्रोत र साधनको उचित प्रयोग गर्दै मानव संसाधनको उपयोग गरी आर्थिक सामाजिक रुपान्तरणमा लाग्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले अहिलेको अवस्थामा देशभित्रै आशा, भरोसाका साथै उद्यमशीलता र रोजगारीको अवसर सृजना गर्न सक्नुपर्ने उल्लेख गर्नुभयो ।

हरेक वर्ष अगस्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसका रुपमा मनाउँने गरिन्छ । यस वर्ष ‘दिगो विकास लक्ष्यमा अभिवृद्धि र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँचको अभिवृद्धि’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ ।