कैलाली, माघ ५ :

यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म ३६ करोड बढी राजस्व सङ्कलन गरेको छ । 

कार्यालयले चालु आवको पुस मसान्तसम्म विभिन्न शीर्षकबाट ३६ करोड ९९ लाख ९१ हजार छ सय ९५ राजस्व सङ्कलन गरेको हो ।

यातायात व्यवस्था कार्यालयका प्रमुख विनोदकुमार पालीले कार्यालयले सवारी साधन करबाट सबैभन्दा बढी २७ करोड ६६ लाख ४४ हजार चार सय ७० राजस्व सङ्कलन गरेको जानकारी दिए । सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट पाँच हजार चार सय राजस्व सङ्कलन गरेको छ ।

चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट आठ करोड ७४ लाख १९ हजार नौ सय ९५, रुटपरमिट, प्रदूषण, पटके (अन्य देशका सवारीबाट उठाइएको) बाट ५१ लाख २५ हजार ३० र व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट रु सात लाख ९६ हजार आठ सय राजस्व सङ्कलन गरेको छ । 

चालु आवमा कार्यालयको बेरुजु रकम हालसम्म शून्य रहेको कार्यालयका प्रमुख पालीले बताए । कार्यलयले गत आवमा विभिन्न राजस्व शीर्षकबाट ६५ करोड ३१ लाख ६३ हजार ९६ राजस्व सङ्कलन गरेको थियो भने बेरुजु रकम एक लाख १९ हजार एक सय रहेको थियो ।