काठमाडौं, माघ ८ :

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दैनिक १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गर्न आफूलाई उपभोक्ताले ठूलो सहयोग गरेको बताएका छन् । 

कार्यकारी निर्देशक घिसिङले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौदाको विषय जनतालाई दैनिक १८ घण्टासम्म अन्धकारमा राखेर उद्योगहरुलाई दिइएको विद्युत भएको बताउँदै उक्त विद्युत उपभोगको रकम तिर्नैपर्ने बताए ।

२०७३ सालको तिहारदेखि काठमाडौंलाई लोडसेडिङ मुक्त गरेसँगै २ वर्षभित्रै देशलाई लोडसेडिङ मुक्त बनाउने अभियानमा आफुलाई उपभोक्ताले ठुलो साथ दिएको उनले बताए ।

नेपाल इन्जिनियरिङ कलेजबाट स्नातक पुरागरी विदा भएका विद्यार्थीहरुलाई संवोधन गर्दै कार्यकारी निर्देशक घिसिङले उपभोक्ताले विद्युत प्रयोग गर्ने बानी व्यवहार परिवर्तन गरेकाले आफु लोडसेडिङ हटाउन सफल भएको बताए । 

लोडसेडिङ एकै पटक अन्त्य गर्न नसकिने अवस्थामा आफुले काठमाडौंबाट सुरुवात गर्दा देशभरका जनताले साथ दिएको उनको जिकीर छ ।

लोडसेडिङको समय एउटै उद्योगलाई ४० मेगावाट सम्म सप्लाई हुने गरेको जिकीर गर्दै कार्यकारी निर्देशक घिसिङले ४० मेगावाट विद्युतले ४० वटा पहाडी जिल्लालाई पुग्ने दावी गरे । 

सप्लाई साइटको म्यानेजमेन्ट र डिमाण्ड साइटको म्यानेजमेन्टमा काम गर्दा लोडसेडिङ अन्त्य गर्न सफल भएको उनको दावी छ । २०७३ सालमा ५० प्रतिशत जनतामा विद्युत पुगेकोमा आजको दिन ९९ प्रतिशत जनताको घरमा विद्युत पुगेको उनको दावी छ । 

लोडसेडिङ अन्त्यसँगै अरबौं घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजानु आफ्नो सबैभन्दा ठूलो उपलब्धी रहेको कार्यकारी निर्देशक घिसिङको जिकीर छ ।