नयाँदिल्ली, माघ ९ :

छत्तीसगढको गरियाबन्द जिल्लामा संदीग्ध माओवादीसँग सुरक्षा बलको मुठभेड भएको छ । भिडन्तमा १४ माओवादी मारेको सुरक्षा बलले दाबी गरेको छ ।

ओडिसाको नुआपाडा जिल्लासँग जोडिएको गरियाबन्दको कुल्हाडीघाटको भालुडिगी र तरझर जंगलमा यो भिडन्त भएको बीबीसीले समाचारमा जनाएको छ ।

एक प्रहरी अधिकारीका अनुसार ओडिसा प्रहरीको विशेष अपरेसन समूह, सीआरपीएफको ‘कोब्रा बटालियन’ र छत्तीसगढ प्रहरीका कर्मचारीहरू आइतबारै अपरेसनका लागि गएका थिए । जहाँ उनीहरूको राति अबेर संदीग्ध माओवादीहरूसँग मुठभेड भएको थियो ।

यो भिडन्त सोमबार रातिसम्म जारी रह्यो । सोमबार दिउँसो दुई संदीग्ध माओवादीको शव फेला परेको थियो । मंगलबार बिहान १२ जना अन्य माओवादीको शव फेला परेको थियो ।

एक वरिष्ठ प्रहरी अधिकारीले बीबीसीलाई भने, ‘हामीले ठुलो मात्रामा अत्याधुनिक हतियार बरामद गरेका छौं । खोजी अभियान अझै जारी छ । मारिएका माओवादीहरूको संख्या बढ्न सक्छ ।’

मारिएका केही माओवादीहरू ओडिशामा सक्रिय माओवादी संगठनका वरिष्ठ सदस्यहरूको रूपमा पहिचान गरिएको छ । यद्यपि, प्रहरीले यसको पुष्टि गरेको छैन ।

भिडन्तमा कोब्रा बटालियनका एक सिपाहीलाई पनि गोली लागेको थियो । यद्यपि उनको अवस्था खतरामुक्त छ । विगत एक वर्षदेखि छत्तीसगढमा माओवादीविरुद्ध ठूलो अभियान चलिरहेको छ ।

सन् २०२४ मा सुरक्षा बलले राज्यमा २१९ माओवादी मारिएको दाबी गरेको थियो । -बीबीसी