काठमाडौँ, साउन ३२ :

संघीय संसद अन्तर्गत आज विभिन्न चारवटा समितिका बैठक बस्दै छन् । आज राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) र संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक बस्न लागेको हो ।

बिहान ११ बजे सिंहदरबारमा बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

दिउँसो ३ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ सम्बन्धी उपसमितिको प्रतिवेदन गर्ने र सोही प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । बैठक सिंहदरबारमा बस्ने छ ।

त्यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठक दिउँसो ३ बजे नै सिंहदरबारमा बोलाइएको छ। बैठकमा समितिका सभापति पदको निर्वाचनका विषयमा छलफल हुनेछ ।

संसदीय सुनुवाइ समितिको बैठक पनि दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको सभापति पदको निर्वाचनका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।