काठमाडौँ, साउन ३२ :

संघीय संसद अन्तर्गत संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति सभापतिका लागि आज निर्वाचन हुँदैछ ।

सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसकी नेत्री एवं समिति सदस्य ईश्वरीदेवी न्यौपानेको मात्र उम्मेदवारी परेको छ। उहाँको मनोनयन प्रस्तावकमा श्यामकुमार घिमिरे र समर्थकमा सुनिता बराल रहनुभएको छ।

यस्तै राज्यका निर्देशक सिद्धान्त समितिमा नेकपा एमालेका नेता एवं समिति सदस्य ठाकुरप्रसाद गैरेको उम्मेदवारी परेको छ। उहाँको प्रस्तावकमा सरस्वती सुब्बा र समर्थकमा दीलेन्द्रप्रसाद बडु रहनुभएको छ।

दुवै समितिको बैठक आज दिउँसो ३ बजे बोलाइएको छ । सम्बन्धित समितिको बैठकमा प्रस्तावकले उम्मेदवारी सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गरेपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेको छ ।