
झडपले कसलाई फाइदा ?
झापाको दमक र सुनसरीको धरानमा प्रहरी र बन्दकर्ताबीच झडप भएको छ । दुई पक्षबीचको झडपका क्रममा प्रहरीले दमक र धरानबाट १० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
आन्दोलनरत पक्षले सगरमाथा यातायातमा ढुंगा हानेर तोडफोड गर्न थालेपछि दमकमा प्रहरी र बन्दकर्ताबीच झडप भएको हो । बन्दकर्ताले दुईवटा सवारीसाधनमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।
सडकमा यातायात अवरोध गर्दै हिँडेका तीनजना र गाडीमा तोडफोड गर्ने थप एक गरी चार प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै धरानबाट ६ जना बन्दकर्ता पक्राउ परेको प्रहरीले जनाएको छ ।
अराजकता रोक्न विधेयक
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न जरुरी रहेको बताएका छन् । उनले सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न ल्याइएको विधेयकको विरोध गर्न आवश्यक नरहेको बताए । लमजुङमा आइतबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले सामाजिक सञ्जाल तथा अनलाइन मिडियाबाट भइरहेको अराजकता रोक्न नियमन विधयेक ल्याइएको प्रस्ट्याए ।
हरियाली नेप्से
सेयर बजारमा उच्छल आएको छ । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से परिसूचक ६९ दशमलव ८० अंकले बढेर २७ सय २७ दशमलव ५८ अंकमा पुगेको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १३ दशमलव ६४ अंकले बढेर चार सय ५८ दशमलव ३७ अंकमा चढेको छ । नेप्सेमा आज ३३० कम्पनीको एक लाख ३० हजार नौ सय १३ पटकको कारोबारमा दुई करोड ४८ लाख ४८ हजार ७९ कित्ता सेयर खरिद-बिक्री भए । जसको कुल कारोबार रकम १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार एक सय ३६ रुपैयाँ पुग्यो ।
सोनियामाथि मुद्दा
बिहारको मुजफ्फरपुर जिल्लाको एक अदालतमा भारतीय कांग्रेस नेतृ सोनिया गान्धीविरुद्ध उजुरी दायर गरिएको छ । राष्ट्रपति द्रौपदी मुर्मुमाथि उनले गरेको टिप्पणीसँग मुद्दा सम्बन्धित छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार मुजफ्फरपुरका वकिल सुधीर ओझाले उजुरी दर्ता गराएका हुन् । यसमा उनले देशको सर्वोच्च संवैधानिक पदमा बसेको व्यक्तिको अपमान गरेको आरोपमा सोनिया गान्धीविरुद्ध एफआईआर दर्ता गर्न माग गरेका छन् ।
लगातार तेस्रो हार
महिला टी-ट्वेन्टी शृंखलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाल १५ रनले पराजित भएको हो । जितका लागि १४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो ।