काठमाडौं, माघ २९ :

एभरेस्ट बैंक लिमिटेडले आफ्नो शाखा विस्तारका क्रममा बझाङको उत्तरपूर्व साइपाल गाउँपालिका १ स्थित धलौनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

गभर्नर महाप्रसाद अधिकारीद्वारा औपचारिक रुपमा उद्घाटन गरिएको शाखा विस्तार समारोहमा साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहोरा, एभरेस्ट बैंक सञ्चालक समितिका अध्यक्ष बालगोपाल वैद्य, प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, नेपाल राष्ट्र बैंकका निर्देशक केशवबहादुर केसी, साइपाल गाउँपालिकाका सबै वडाका वडाध्यक्षहरु, एभरेस्ट बैंक सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख उज्ज्वल पोख्रेललगायतको उपस्थिति थियो ।

आज (सोमबार) का दिन औपचारिक रुपमा उद्घाटित यो बैंकको १२९औं शाखा कार्यालय हो । वित्तीय पहुँचबाट टाढा रहेको साइपाल गाउँपालिकामा बैंकको यो शाखा कार्यालय सञ्चालनमा आएसँगै अब देशका ७५३ वटै स्थानीय निकायमा (क) वर्गको वाणिज्य बैंकको उपस्थिति भएको छ ।

उद्घाटन समारोहमा गभर्नर अधिकारीले बैंकको यस शाखाको स्थापनासँगै संघीय राष्ट्रको सम्पूर्ण पालिकामा बैंक पुर्याउने सरकारी लक्ष्यले पूर्णता पाएको बताए ।

पन्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहक संख्या रहेका र देशैभरी १३१ शाखा सन्जाल, चारवटा एक्सटेन्सन काउन्टर, सातवटा प्रादेशिक कार्यालय, १६७ एटीएम काउन्टर सञ्चालमा छन् ।

विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ । बैंकले भारतको नयाँदिल्लीलगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको छ ।