काठमाडौं, फागुन २ :

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच भेटवार्ता भएको छ ।

‘इन्डिया इनर्जी विक-२०२५’ मा सहभागी हुन भारतको नयाँदिल्ली पुगेका मन्त्री खड्काले आज भारतका समकक्षी पाटिलसँग श्रमशक्ति भवन नयाँदिल्लीमा भेटवार्ता गरेका हुन् । भेटमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डीपीआर चाँडो फाइनल गरेर आयोजना अघि बढाउने सहमति भएको भेटमा सहभागी ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रवल अधिकारीले जानकारी दिए ।

भेटमा टनकपुरदेखि नेपाल-भारत सिमानासम्मको लिङ्क नहर निर्माण सम्पन्न भइसकेको तर पानी सञ्चालन कार्यविधि चाँडै अन्तिम रुप दिई महाकाली सन्धिअनुसार पानी छाड्ने सहमति भएको छ । यस्तै बाढी र डुबान व्यवस्थापनका लागि संयुक्त समितिको १४औं बैठक आगामी मार्च २२ देखि २४ सम्म गर्ने र यसका लागि मन्त्रालयबाट औपचारिक पत्राचार गर्ने सहमति भएको छ ।

यसैगरी सप्तकोसी बहुउद्देश्यीय आयोजनाको डीपीआर सम्बन्धमा पनि दुई पक्षीय बैठकहरुमार्फत छलफल अगाडि बढाउने सहमति भएको छ । ऊर्जामन्त्री खड्काले गत ५ नोभेम्बरमा भएको भेटघाट र छलफलले दुई देशको सहकार्यमा जलस्रोतको क्षेत्रमा महत्त्वपूर्ण कार्यका लागि अघि बढ्न थप हौसला प्रदान गरेको स्मरण गरे ।

भेटमा भारतका जलशक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डीपीआरलाई चाँडो अन्तिम रुप दिन र उक्त आयोजनालाई चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक रहेको बताएका थिए ।

भेटमा मन्त्री खड्कासँगै मन्त्रालयका सचिव सुरेश आचार्य, वरिष्ठ ऊर्जाविज्ञ प्रवल अधिकारी, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, आर्थिक सल्लाहकार अमित श्रेष्ठलगायत सहभागी थिए ।