
नेपाली बजारमा चीनको प्रसिद्ध कम्पनी शाङच आरजेडएम अटोद्वारा उत्पादित आरजेडएम ब्रान्डका १५ र १६ सिटर ईभी भ्यान भित्रिएका छन् । नेसनल मोटर्स र राठी ट्रेडिङले संयुक्त रुपमा आरजेडएम ब्रान्डका यी सवारीसाधन नेपाल भित्र्याएका हुन् ।
एक कार्यक्रमबीच नेसनल मोटर्सका म्यानेजिङ डाइरेक्टर सञ्जयकुमार अग्रवाल, राठी ट्रेडिङका म्यानेजिङ डाइरेक्टर दिनेशकुमार राठी र शाङच आरजेडएम अटोका इन्टरनेसनल जनरल म्यानेजर केन सुनले सहकार्यको घोषणा गरे ।
सो अवसरमा आरजेएम अटो नेपालका सीईओ मनोज खतिवडाले आरजेडएम ब्रान्ड नेपाल भित्र्याउनुका कारण र यसका फिचरबारे चर्चा गरेका थिए । नेसनल मोटर्सका एक्जिक्युटिभ डाइरेक्टर मनोजविक्रम शाहले नेसनल मोटर्स र एसएमएल इसुजुको इतिहास तथा हालको अवस्थाबारे जनाएका थिए । त्यस अवसरमा नयाँ ग्राहकलाई गाडीको साँचोसमेत हस्तान्तरण गरिएको थियो ।
ईफाइभ (ई५) सिरिजको १५ सिटर ईभी भ्यानमा ५३.५८ किलोवाट आवरको सीएटीएलको थर्ड जेनेरेसन ब्याट्री प्रयोग गरिएको छ । जसले सिंगल चार्जमा जस्तोसुकै सडकमा पनि औसतमा २५० किलोमिटरको रेन्ज दिने प्रमाणित भएको छ । समतल सडकमा भने यसले ३०० किलोमिटर भन्दा बढी रेन्ज दिएको पाइन्छ ।
डब्ल्यूएलटीपीअनुसार यसको रेन्ज ३०० किलोमिटर छ । यसको ग्राउन्ड क्लियरेन्स २०० एमएम छ । यसको पिक पावर १०० किलोवाट र रेटेड पावर ५० किलोवाट छ, भने ३०० एनएमको टर्क छ ।
त्यसैगरी १६ सिटर आरफाइभ (आर५) मोडलमा अझै फराकिलो बडीसहितको संरचना छ । यसमा ७७.२८ किलोवाट आवरको सीएटीएलको थर्ड जेनेरेसन ब्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा ३६६ किलोमिटर (डब्लुएलटीपी) रेन्ज दिने दावी गरिएको छ । यसमा १२० किलोवाटको पिक पावर दिने मोटर भएकाले उकाली ओरालीमा सहजताका साथ जान्छ । यसको रेटेड पावर ६० किलोवाट छ भने टर्क ३५० एनएम छ ।
नयाँ प्रविधिअनुसार ६० किलोवाटको चार्जर प्रयोग गरी यी गाडीलाई ४५ मिनेटमै चार्ज गर्न सकिन्छ । पोखरादेखि काठमाडौंसम्म गरिएको परीक्षणमा यसले फुल चार्ज गर्दा ५१ प्रतिशत चार्ज बाँकी भएकै अवस्थामा पोखरा पुगेको कम्पनीले बताएको छ । १८० एमएमभन्दा धेरै ग्राउन्ड क्लियरेन्ससहितका विशेषता भएको यो ईभी भ्यान लक्जरियससमेत भएकाले लामो यात्राका लागि उपयोगी हुन्छ ।
नेपाली सडकमा पहिले नै परीक्षण र सुधार गरेर उत्कृष्टता दिने प्रयास गरिएको कम्पनीको भनाइ छ । यी गाडीका सिट लेआउट र अन्य संरचनासमेत नेपाली सडक सुहाउँदो बनाइएको छ । हाल जेड ४, आर ४, आर ५, आर ६ र के सिरिजमा विशेषगरी बिजनेस, टुरिजम, प्यासेन्जर ट्रान्सपोर्ट र स्पेसल भेहिकल मार्केटका लागि उपयुक्त सवारीसाधन कम्पनीले उत्पादन गरिरहेको छ ।
चीनको जियाङसुमा अवस्थित दुई प्लान्टमार्फत विश्वका २३ देशमा आरजेडएम ब्रान्डका सवारीसाधन बिक्री भइरहेका छन् । यसैगरी ५ देशमा एसेम्बली र सीकेडी प्लान्ट छ । शाङच आरजेडएम अटो सन् २०१६ मा चीनको स्टक एक्सचेन्जमा सूचीकृत भएको शतप्रतिशत सरकारी स्वामित्वको कम्पनी हो । यसका कारण पनि कम्पनीको भविष्यमा कुनै शंका गर्नुपर्ने अवस्था नभएको कम्पनीको भनाइ छ ।
नेपाली बजारमा करिब ३८ वर्ष पहिले सन् १९८७ देखि तत्कालीन स्वराज माज्दा ब्रान्डका सवारीसाधनमार्फत अटोमोबाइल व्यवसायमा प्रवेश गरेको नेसनल मोटर्सले हाल एसएमएल इसुजुका कमर्सियल सवारीसाधन र अन्य अटोमोबाइल सम्बद्ध सामग्री बिक्री गरिरहेको छ । स्कुल, कर्पोरेट क्षेत्र र फ्लिट ग्रुपहरुमा हाल यो ग्रुपले हजारौ सवारीसाधन बिक्री गरिसकेको छ ।
हाल नेसनल मोटर्सका नेपालभर १२ भन्दा धेरै स्थानमा सर्भिस नेटवर्क उपलब्ध छ । अब आरजेडएमका लागि सर्भिस तालिम उपलब्ध गराउने र पार्टस् ल्याउने कार्यसमेत अगाडि बढेकोले ग्राहकलाई बिक्रीपछिको सेवा उपलब्ध गराउन कुनै समस्या नहुने दाबी गरिएको छ । ई ५ को मूल्य ५४ लाख २५ हजार रुपैयाँ तोकिएको छ । आर५ को मूल्य ७३ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।