काठमाडौं, फागुन ९ :

नाडाको सहयोगमा पोखरामा नाडा प्रिजेन्ट्स वाडा अटो शो २०२५ आयोजना हुने भएको छ ।

यही आउँदो चैत १४ देखि १७ सम्म पोखराको प्रदर्शनी केन्द्रमा नाडा प्रिजेन्ट्स वाडा अटो शो २०२५ आयोजना हुन लागेको हो । त्यसका लागि वाडाले आजदेखि बुकिङ खुला गरेको छ ।

गत पुस २० गते काठमाडौंमा नाडाले आफ्नो संस्थागत (प्रदेश) सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एसोसिएसन (वाडा) का पदाधिकारी तथा सदस्यहरुबीच पोखरामा पहिलोपटक वाडा अटो शो आयोजना गर्ने सम्बन्धमा छलफल पनि गरेको थियो ।

प्रदर्शनीमा भाग लिनेसम्बन्धी गरिएको सर्वेक्षणका आधारमा यस वर्ष पहिलोपटक पोखरामा वाडा अटो सो आयोजना गर्न लागिएको छ । वाडा अटो शोमा २-पाङ्ग्रे, ३-पाङ्ग्रे, ४-पाङ्ग्रे, लाइट कमर्सियल, हेभी कमर्सियल तथा मेसिनरी इक्युप्मेन्ट्स्, वित्तिय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समूहअनुसार छुट्टाइएको हुँदा सोहीअनुरुप रजिस्ट्रेसनको व्यवस्था मिलाइएको छ ।

वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाका अनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सिर्जनाका लागि विशेष योगदान पुर्‍याउँदै आइरहेको सवारीसाधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आमउपभोक्तालाई यस वाडा अटो शो २०२५ ले सकारात्मक ऊर्जा एवं नवीनतम् प्रविधिहरुको साक्षात्कार गराउने वाडाले अपेक्षा राखेको छ ।

यसै क्रममा नाडाले सम्भाव्यता अध्ययनगरी आफ्ना प्रदेश एसोसिएसनहरुमार्फत नेपालका अन्य मुख्य-मुख्य सहरहरुमा अटो प्रदर्शनीको आयोजना गर्नेछ ।