जोहानेसबर्ग, फागुन ११ :

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले युक्रेनी समकक्षी भोलोदिमर जेलेन्स्कीलाई रुसको सन् २०२२ को आक्रमणबाट उत्पन्न द्वन्द्व अन्त्य गर्न ‘समावेशी शान्ति प्रक्रिया’ बारे छलफल गर्न चाँडै आमन्त्रित गर्ने बताएका छन् ।

युक्रेन र यसका युरोपेली सहयोगीहरूलाई आमन्त्रित नगरिएको वार्ताको माध्यमबाट युद्धको अन्त्यका लागि वार्ता गर्न रुस र संयुक्त राज्य अमेरिकाले चालेका कदमहरूको कडा आलोचनाका बीच शुक्रबार यो प्रस्ताव आएको हो ।

राष्ट्रपति जेलेन्स्कीसँग भएको रचनात्मक संवादलाई स्वागत गर्दै उनलाई चाँडै राजकीय भ्रमणका लागि दक्षिण अफ्रिकामा आतिथ्य गर्न उत्सुक रहेको रामाफोसाले एक्समा भनेका छन्।

दुई नेताले ‘सबै पक्षहरू समावेश गर्ने समावेशी शान्ति प्रक्रियाको तत्काल आवश्यकता’ मा सहमति जनाएको उनले बताए । दक्षिण अफ्रिका रुस र युक्रेन बीचको संवाद प्रक्रियालाई समर्थन गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।

यसैबीच जेलेन्स्कीले ‘युक्रेनको सार्वभौमिकता र क्षेत्रीय अखण्डता’ लाई समर्थन गरेकोमा रामाफोसालाई धन्यवाद दिएका छन् भने यस वर्ष शान्तिको आशा व्यक्त गरेको प्रतिक्रिया जनाएका छन्।

“हाम्रा देशहरूले समान स्थिति साझा गर्छन् भन्ने महत्त्वपूर्ण छ ः युक्रेन बिना युक्रेनको बारेमा केही पनि होइन । हामी सबैले यस वर्ष न्यायपूर्ण र दीर्घकालीन शान्ति प्राप्त गर्ने आशा गर्दछौंँ । दक्षिण अफ्रिकाको आवाज महत्त्वपूर्ण छ र हामी यसको समर्थनमा भर पर्दछौँ”, उनले लेखेका छन ।

दक्षिण अफ्रिकाले रुस र युक्रेनबीचको युद्धमा तटस्थता देखाउन खोजेको भए पनि मस्कोतिर झुकेको आरोप लगाइएको छ ।

रामफोसाले अक्टोबरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आयोजना गरेको प्रमुख उदीयमान अर्थतन्त्रहरूको ब्रिक्स समूहको शिखर सम्मेलनमा रुसलाई ‘मूल्यवान मित्र र सहयोगी’ भनेर वर्णन गरेका थिए।

रामाफोसाले बिहीबार जोहानसबर्गमा समूह २० (जी- २०) का शीर्ष कूटनीतिज्ञहरूको बैठकको छेउमा रूसी विदेशमन्त्री सर्गेई लाभरोभसँग पनि वार्ता गरेका थिए ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले प्रिटोरियालाई ‘अमेरिका विरोधी’ एजेन्डाको आरोप लगाएपछि दक्षिण अफ्रिकामा भएको दुई दिने बैठकमा भाग लिएनन् । -रासस /एएफपी