कास्की, फागुन १३ :

नेपालको पर्यटन राजधानी पोखरामा पहिलो त्रिदेशीय पर्यटन एक्स्पो, नाइस-२०२५ (नेपाल, भारत, चीन एक्स्पो) सुरु भएको छ ।

नेपाल पर्यटन बोर्ड र प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको सहकार्यमा फागुन १२ देखि १४ गतेसम्म सञ्चालन भइरहेको यस एक्स्पोमा ८० अन्तर्राष्ट्रिय बायर्स, ७० सेलर्स र ७५ एक्जिविटर्ससहित ६ सय भन्दा बढी सहभागिता छ ।

पोखरा पर्यटन परिषद् र अन्य सरकारी तथा निजी क्षेत्रका साझेदार र सरोकारवालाहरूको संयोजनमा आयोजित यस एक्स्पोले तीन देशका पर्यटन र आतिथ्य क्षेत्रका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूलाई एकै स्थानमा ल्याएको छ । जसले व्यावसायिक अनुभव र व्यापार अवसरहरूको आदानप्रदान गर्न मद्दत गर्ने विश्‍वास पर्यटन बोर्डले लिएको छ ।

नाइस-२०२५ एक्स्पोले तीन देशबीचको सम्पर्क सुदृढ गर्दै, पर्यटन गतिविधिको वृद्धि गर्ने उद्देश्य राखेको छ । नेपाल भ्रमण गर्ने पर्यटक र अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसँग प्रि-एक्स्पो गन्तव्य अनुभवको अवसर पनि प्रदान गरिएको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले यो एक्स्पो केवल एउटा कार्यक्रम मात्र नभई समग्र पर्यटन क्षेत्रका लागि गौरवको क्षण भएको बताए । उनले भने, ‘यो एक्स्पोले भारत र चीन जस्ता ठूला आउटबाउन्ड पर्यटन बजारहरूलाई नेपालमा एकत्रित गराउन समग्र पर्यटन क्षेत्र एकजुट भएर काम गरेको छ ।’

पोखरा, जसलाई ‘तालहरूको सहर’ र ‘हिमालय र ट्रेकिङको प्रवेशद्वार’ का रूपमा चिनिन्छ, विश्वका १४ अग्ला हिमालमध्ये तीन- धौलागिरि, अन्नपूर्ण-१ र मनास्लु हिमालको दृश्यावलोकन गर्न प्रसिद्ध छ । पोखरा प्राकृतिक सौन्दर्य र साहसिक गतिविधिहरूले गर्दा पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।

नाइस-२०२५ एक्स्पोले पोखरालाई माइस (बैठक, सम्मेलन, प्रोत्साहन, विवाह, उत्सव, महोत्सव, मेला र प्रदर्शनी) पर्यटनको गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । एक्स्पोको दोस्रो दिन, फागुन १३ गते, द नलेज फोरमले ‘भिसा डेस्टिनेसन इनसाइट्स : सपोर्टिङ द टुरिजम इकोसिस्टम’ र ‘सस्टेनेबल हस्पिटालिटी फ्राम कन्स्ट्रक्सन टु अपरेसन’ जस्ता महत्त्वपूर्ण विषयमा पर्यटन विशेषज्ञसँग ज्ञान आदानप्रदान गर्नेछ ।

नाइस-२०२५ एक्स्पोको उद्देश्य भनेको भारत र चीनजस्ता उदीयमान आर्थिक शक्तिबाट नेपालमा अधिक पर्यटक ल्याउने हो । यसले तीन देशबीच व्यापारिक सञ्जाल र सहकार्यको अवसरहरू सिर्जना गर्दै, पर्यटन र आतिथ्य क्षेत्रको सुदृढीकरण गर्ने विश्वास व्यक्त गरिएको छ । यो एक्स्पो तीन देशबीच पर्यटन र व्यापारको समृद्धि र सहकार्यका लागि महत्त्वपूर्ण मञ्चको रूपमा रहेको छ ।