काठमाडौं, फागुन १४ :

नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जालाई थप व्यवस्थित गरेको छ । राष्ट्र बैंकले मंगलबार अनुमति प्राप्त हायर पर्चेच कम्पनीको नाउँमा परिपत्र जारी गर्दे हायर पर्चेज कर्जालाई थप व्यवस्थित बनाउने नीतिगत निर्णय गरेको हो ।

कम्पनीले ऐनको दफाबमोजिम देहायको अवस्था भएमा सीमा कारोबार विवरण कारोबार भएको मितिले १५ दिनभित्र गोमेल सफ्टवेयरमार्फत वित्तीय जानकारी एकाइमा उपलब्ध गराउनु पर्नेछ । यसअन्तर्गत एकैपटक वा पटक-पटक गरी एक आर्थिक वर्षमा कुनै ग्राहकले ३० लाख रुपैयाँ वा सोभन्दा बढी रकमको हायर पर्चेज कर्जा लिएमा वा एकैपटक वा पटक-पटक गरी एक दिनमा कुनै एक ग्राहकले १० लाख वा सोभन्दा बढी रकम भुक्तानी गरेमा त्यसको जानकारी राष्ट्र बैंकलाई दिनुपर्नेछ ।

राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त हायर पर्चेज कर्जा दिने कम्पनीका लागि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्थासमेत गरेको छ । यस बैंकबाट अनुमतिपत्रप्राप्त हायर पर्चेज कर्जा दिनेकम्पनीले (यसपछि यस निर्देशनमा ‘कम्पनी’ भनिएको) सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानीलगायत सम्बद्ध कसुरसँग सम्बन्धित वित्तीय अपराध निवारण गर्ने सम्बन्धमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (यसपछि यस निर्देशनमा ‘ऐन’ भनिएको) र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०८१ (यसपछि यस निर्देशनमा ‘नियमावली’ भनिएको) मा तोकिएका व्यवस्थाहरुका अतिरिक्त थप व्यवस्थाहरु गर्न जरुरी देखिएको हुँदा सोही ऐनको दफा ७ नम्बर (१) तथा ७ प र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको परिपत्रमा उल्लेख छ ।

यो व्यवस्थाअनुसार कम्पनीले उच्च पदस्थ व्यक्तिको वर्गीकरण गर्नुपर्नेछ । परिपत्रअनुसार पदमा बहाल रहेका उच्च पदस्थ व्यक्ति, पदमा बहाल नरहेका उच्च पदस्थ व्यक्ति, छिमेकी वा नजिकका मुलुकको विदेशी उच्च पदस्थ व्यक्ति, अन्य विदेशी उच्च पदस्थ व्यक्ति, अन्तर्राष्ट्रिय संस्थाको उच्च पदस्थ व्यक्तिका रुपमा वर्गीकरण गर्नुपर्नेछ । परिपत्रअनुसार अस्वभाविक रुपमा वा शंकास्पद तवरबाट कारोबार गर्ने ग्राहकको पनि सूची पनि तयार गर्नुपर्नेछ ।

यसअन्तर्गत उच्च नेटवर्थ भएका ग्राहक, यस प्रयोजनका लागि उच्च नेटवर्थ जनाउने सीमा वा चरहरु । ग्राहक पहिचान विवरण र शंकास्पद कारोबारसम्बन्धी सूचकहरु कम्पनीले आफैं निर्धारण गर्नुपर्नेछ । सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी अपराधमा संलग्न हुन सक्ने आधार देखिएका ग्राहक, भ्रष्टाचार, करछलीलगायत अन्य आपराधिक कार्यका आधारमा उच्च जोखिममा रहेका मुलुकका ग्राहक वा हाल बसोबास वा पेसा वा व्यवसाय गरिरहेको स्थान आदिको आधारमा जोखिममा रहेका ग्राहक वर्गीकरण गर्नुपर्नेछ ।

राष्ट्र बैंकले मंगलबारै परिपत्र जारी गर्दै कर्मचारी सञ्चय कोष, (नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषका लागि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोष (यसपछि यस निर्देशनमा ‘संस्था’ भनिएको) ले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीलगायत सम्बद्ध कसुरसँग सम्बन्धित वित्तीय अपराध निवारण गर्ने सम्बन्धमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (यसपछि यस निर्देशनमा ‘ऐन’ भनिएको) र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०८१ (यसपछि यस निर्देशनमा ‘नियमावली’ भनिएको) मा तोकिएका व्यवस्थाहरुका अतिरिक्त थप व्यवस्थाहरु गर्न मन्त्रिपरिषद्‌को निर्णयबमोजिम देहायबमोजिमको निर्देशन जारी गरिएको जनाएको छ ।

यसअन्तर्गत आन्तरिक जिम्मेवारी तथा कार्य विभाजन, जोखिम मूल्यांकन प्रणालीको आधार तथा पद्धति, जोखिममा आधारित ग्राहक पहिचान, अद्यावधिक तथा अनुगमन पद्धति, अस्वाभाविक तथा शंकास्पद कारोबारको पहिचान पद्धतिलगायत व्यवस्था गर्नुपर्ने भएको छ ।