
धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिनियामा एक सातादेखि बेपत्ता २० वर्षीया अञ्जली यादवको शव घरकै पूजाकोठामा गाडिएको अवस्थामा फेला परेको छ। शव कुहिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
स्थानीयले अञ्जली हराएको र उनका श्रीमान् हरिराम यादव बेपत्ता भएको सूचना दिएपछि अनुसन्धान अघि बढाइएको थियो। त्यसक्रममा शनिबार दिउँसो १ बजे अञ्जलीको शव घरभित्रै गाडिएको अवस्थामा फेला परेको धनुषा प्रहरीका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए।
प्रहरीले श्रीमान् फरार रहेकाले अञ्जलीको हत्या उनैले गरेको हुन सक्ने आशंका गरेको छ। हरिरामसँगै उनीहरूको १० महिनाकी छोरीको पनि अवस्था अज्ञात रहेको छ।
स्थानीयका अनुसार गत शनिबार अञ्जली र हरिरामबीच विवाद भएको थियो। घरका सबैजना हराएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। डीएसपी सिंहका अनुसार शव उत्खनन गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।