.jpg)
निक्षेप तथा कर्जा सुरक्षण कोष र अग्नि हायर पर्चेज प्राइभेट लिमिटेडबिच सम्झौता भएको छ ।
निक्षेप तथा कर्जा सुरक्षण कोष र अग्नि हायर पर्चेजबीच बुधबार साना तथा मझौला उद्यमअन्तर्गत यातायात सेवासम्बन्धी व्यवसाय र कृषि कर्जा कार्यक्रमअन्तर्गत कृषि औजार, यन्त्रमा प्रदान गरेको कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा कोषका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र अग्नि हायर पर्चेज प्राइभेट लिमिटेडका तर्फबाट महाप्रबन्धक अरुणराज उपाध्यायले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा कोषको कर्जा सुरक्षण विभागको विभागीय प्रमुख प्रबन्धक मन्दिरा थपलियालगायत पदाधिकारी र अग्नि हायर पर्चेज प्राइभेट लिमिटेडको कर्जा तथा असुली विभागको विभागीय प्रमुख प्रबन्धक विराटकाजी राउतको उपस्थिति थियो ।
सम्झौतापत्रमा हस्ताक्षर भएसँगै अग्नि हायर पर्चेज प्राइभेट लिमिटेडले स्वरोजगार तथा व्यवसाय प्रवर्द्धनका लागि यातायात खरिदमा प्रवाह गरेको अधिकतम तीन करोड साथै व्यावसायिक कृषि प्रवर्द्धनका लागि कृषि औजार तथा उपकरण खरिदमा प्रदान गरेको अधिकतम तीन करोडसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ ।
कोषमा सुरक्षित कर्जा विभिन्न कारणले असुल हुन नसकेमा अग्नि हायर पर्चेज प्राइभेट लिमिटेडले कोषसमक्ष दाबी गर्ने र उक्त दाबीमा कोषले अधिकतम ८० प्रतिशतसम्म भुक्तानी दिनेछ ।
सम्झौतासँगै कोषले आफ्नो व्यवसाय विस्तारलाई नयाँ शिराबाट अगाडि बढाएको छ । यसले हायर पर्चेज कम्पनी लिमिटेडसमेत अन्य बैंक तथा वित्तीय संस्थाहरु जस्तै व्यवसाय विस्तारमा उत्प्रेरित हुने साथै कृषि तथा यातायात क्षेत्रमा स्वरोजगार तथा व्यवसाय विकास गर्न चाहने युवा उद्यमीले सहज रुपमा कर्जा प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौताबाट कर्जा सुरक्षण नियमावली, २०७५ ले गरेको छुट्टै शीर्षक वा उपशीर्षकअन्तर्गतको कर्जा सुरक्षण गर्नसक्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।