काठमाडौं, फागुन ३० :

भारतको अग्रणी कुरियर तथा लजिस्टिक्स कम्पनी डीटीडीसीले नेपालमार्फत विश्वव्यापी रूपमा आफ्नो सेवा विस्तार गर्ने घोषणा गरेको छ ।

कम्पनीले बुधबार एक कार्यक्रमको आयोजना गरेर नेपालको ख्यातिप्राप्त लजिस्टिक्स कम्पनी युनिभर्सल एक्सप्रेस प्रालिसँग रणनीतिक साझेदारी गरेको हो । डीटीडीसी अस्ट्रेलियाका वरिष्ठ प्रतिनिधि पिनाकी चटर्जी थिए । उनले नेपालमा डीटीडीसीको विस्तारलाई विश्वव्यापी लजिस्टिक्स सञ्जाललाई अझ सशक्त बनाउने महत्त्वपूर्ण कदमका रूपमा रहेको बताए ।

उनले भने, ‘नेपाल हाम्रा लागि रणनीतिक रूपमा महत्त्वपूर्ण गन्तव्य हो । युनिभर्सल एक्सप्रेससँगको साझेदारीले हामीलाई विश्वभर कुरियर तथा ढुवानी सेवा विस्तार गर्न मद्दत गर्नेछ । हामी अन्तर्राष्ट्रिय ढुवानी, ई-कमर्स लजिस्टिक्स र अन्तिम-माइल डेलिभरी सेवामा नयाँ उचाइँ कायम गर्न चाहन्छौं ।

यस साझेदारीमार्फत डेलिभरी समय छोट्याउने, ट्र्याकिङ प्रणाली सुधार गर्ने र नेपाल हुँदै विश्वका विभिन्न मुलुकहरूमा ढुवानी प्रक्रिया सहज बनाउने लक्ष्य राखिएको छ । नेपालमा मजबुत सञ्जाल भएको युनिभर्सल एक्सप्रेस प्रालिले डीटीडीसीलाई विश्वव्यापी सञ्जाल विस्तार गर्न, सेवा गुणस्तर सुधार गर्न र अन्तर्राष्ट्रिय ढुवानीलाई अझ प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

डीटीडीसीको नेपाल प्रवेशले विश्वव्यापी कुरियर तथा लजिस्टिक्स क्षेत्रमा नयाँ तरंग ल्याउने बताउँदै अन्य सेवा प्रदायकहरूलाई पनि सेवा सुधार गर्न प्रेरित गर्ने बताए । साझेदारीले व्यवसाय, ई-कमर्स प्लेटफर्महरू र व्यक्तिगत ग्राहकहरूलाई छिटो, भरपर्दो र गुणस्तरीय कुरियर सेवा उपलब्ध गराउनेछ ।

नेपाल हुँदै विश्वव्यापी व्यापार तथा ढुवानी सेवालाई विस्तार गर्ने डीटीडीसीको यो रणनीतिक कदम लजिस्टिक्स क्षेत्रमा नयाँ युगको सुरुवात हुने विश्वास गरिएको डीटीडीसीका नेपालका कार्यकारी प्रमुख किरण श्रेष्ठले जानकारी दिए ।