
जिल्लाको पालुङ्टार नगरपालिका- ९ ढुङ्गेटारीस्थित खारखोला पुल निर्धारित समय समाप्त हुन सात महिना बाँकी छँदै निर्माण सम्पन्न भएको छ ।
अठार महिनाभित्र सम्पन्न गर्नेगरी गत वर्ष चैतमा ठेक्का सम्झौता गरेको श्रीगणेश अमृत जेभी कम्पनीले गत फागुनमा निर्माण सम्पन्न गरेको हो ।
फागुनको पहिलो हप्ताभित्र पुल निर्माणको काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले बताए । सो पुल निर्माणको काम गत वैशाख ५ गतेदेखि आरम्भ भएको उनले जानकारी दिए ।
कात्तिकपछि लगातार काम गरेर चार महिनामै पुल तयार भएको उनको भनाइ छ । अब केही दिनभित्र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीका लागि यो गतिलो पाठ भएको छ । अठार महिनामा सम्पन्न गर्ने सम्झौता भए पनि करिब नौ महिनाभित्र काम सम्पन्न गर्नु खुसीको कुरा भएको उनको भनाइ छ ।
पच्चीस मिटर लामो र ८.४ मिटर चौडाइ रहेको निर्माणाधीन ढुङ्गेटारीस्थित खारखोला पुलको लागत दुई करोड ७५ लाख रहेको छ ।