
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको पार्टी अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकारप्रति संवेदनशील रहेको बताएका छन् ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा सभापति देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा अपाङ्गता भएका व्यक्तिहरूको महत्त्वपूर्ण योगदान रहेको बताए ।
“नेपाललाई आधुनिक विकासको बाटोमा अघि बढाउने क्रममा अपाङ्गता भएका व्यक्तिहरूको उत्प्रेरणा, सुझाव, सहयोग र सकारात्मक भूमिका सदा प्रशंसायुक्त रह्यो, २००७ सालको जनक्रान्तिदेखि आजसम्म शारीरिक, मानसिक, वौद्धिक तथा अन्य प्रकारको अपाङ्गताका बाबजुद कांग्रेसको आह्वान र नेतृत्वमा भएका सङ्घर्षमा साथ दिने सबैलाई ससम्मान सम्झना गर्न चाहन्छु”, उनले भने ।
लोकतन्त्रले मात्र सबै वर्ग, क्षेत्र, लिङ्ग, वर्ण वा समुदायको हकहितको रक्षा गर्दछ भन्ने कुरा नेपालको आफ्नै अनुभवले प्रष्ट पारेको सभापति देउवाको भनाइ छ ।
सरकारले चाहेर पनि अपाङ्गता भएका व्यक्तिहरूलाई पर्याप्त सेवा सुविधा दिन नसकिरहेको तर्फ पार्टी सचेत रहेको भन्दै सभापति देउवाले मुलुकको आर्थिक विकाससँगै यस क्षेत्रको सेवा, सुविधा र रोजगारी अभिवृद्धिमा प्राथमिकता दिन आफूहरू प्रतिबद्ध रहेको बताए ।