
फाइल फोटो ।
राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा हुन सक्ने जलसङ्कटलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको पुर्नभरण र जलाधार क्षेत्रको संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
विश्व पानी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले ग्रामीण क्षेत्रमा आहाल, पोखरी तथा तालतलैयाको निर्माण तथा सहरी क्षेत्रमा वर्षात्को पानी संकलन गरी पुनर्भरण गर्ने पूर्वाधार विकास गर्न सम्बन्धित सबै पक्ष अग्रसर हुनुपर्ने बताएका छन्।
राष्ट्रपतिले जलस्रोतको दीर्घकालीन संरक्षणका लागि प्राचीन र आधुनिक प्रविधिको संयोजन गरी जलाशययुक्त योजनाहरू अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्। उनले बढ्दो सहरीकरण, भौतिक पूर्वाधारको अनियन्त्रित विस्तार, जलवायु परिवर्तन तथा प्रदूषणका कारण पानीका स्रोतहरू संकटमा परिरहेको भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन्।
‘भूमिगत जलस्रोत पारिस्थितिकीय सन्तुलनका लागि महत्वपूर्ण सम्पदा हो, जसले नदी प्रवाहलाई नियमित गर्न, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न र सुरक्षित पिउने पानीको उपलब्धता सुनिश्चित गर्न मद्दत गर्छ," राष्ट्रपतिको सन्देशमा उल्लेख छ।
उनले भूमिगत जलस्रोतको अतिक्रमण, सहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाका कारण पुर्नभरणमा अवरोध तथा बढ्दो औद्योगीकरणका कारण जलस्रोत प्रदूषित बन्दै गएकामा चिन्ता व्यक्त गरेका छन्।
राष्ट्रपतिले जलस्रोत र नदी प्रणालीको संरक्षण गर्दै पूर्वसूचना प्रणालीको प्रभावकारी उपयोगमार्फत प्राकृतिक प्रकोप र जनधनको क्षति न्यूनीकरण गर्न सकिने बताएका छन्। साथै, पानीको संरक्षण र व्यवस्थापनमार्फत दिगो विकास लक्ष्य हासिल गर्न विश्व पानी दिवसले सबैलाई प्रेरित गरोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।
सन् १९९३ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष मार्च २२ मा विश्व पानी दिवस मनाइँदै आएको छ। यस वर्ष "हिमनदी संरक्षण" नारासहित नेपालका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिएका छन्।