मकवानपुर, चैत २५ :

हेटौंडा सिमेन्ट उद्योगले करिब पाँच महिनापछि आजदेखि पुनः उत्पादन सुरु गरेको छ ।

उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युत्‌ अभावमा बन्द भएको सिमेन्ट उत्पादन विद्युत् आपूर्तिसँगै पुनः सुरु भएको जनाइएको छ ।

चुनढुंगा पेल्न उद्योगलाई दैनिक आठ मेगावाट विद्युत् आवश्यक पर्ने उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णले बताए ।

उद्योगलाई आवश्यक पर्ने एक हजार ९०० टन कोइला अहिले जगेडामा राखिएको छ । दोस्रो चरणमा गरी करिब चार हजार टन कोइला बोलपत्र प्रक्रियामार्फत ल्याउने तयारी भइरहेको कर्णले जानकारी दिए ।

२०३३ सालमा हेटौंडाको लामसुरेमा स्थापना भएको उद्योगले २०४३ मङ्सिर २६ गते उद्घाटन गरिएको थियो । तत्कालीन समयमा हेटौंडा सिमेन्ट उद्योगमा एक अर्ब ५० करोड लगानी गरिएको थियो । हाल उद्योगमा प्रशासन, व्यापार महाशाखा, लेखा, भण्डारण, प्राविधिक र मजदुर गरी १९५ जनाले स्थायी रोजगारीको अवसर प्राप्त गरिरहेका छन् ।

उद्योगले दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादनको क्षमता भए पनि हाल १२ हजार बोरा मात्र उत्पादन भइरहेको जनाएको छ ।