
इरानको राजधानी तेहरानस्थित विभिन्न कार्यालय तथा नियोगहरूमा कार्यरत ११ जना नेपाली भारतको सहयोगमा नेपाल फर्किँदैछन्। उनीहरूलाई भारतीय विमानमार्फत स्वदेश फर्काउने तयारी भइरहेको छ।
हाल उनीहरू इरानको मसद सहरस्थित एक होटलमा बसिरहेका छन् र उडानको प्रतिक्षामा छन्। नेपालीहरूलाई फर्काउने कार्य इरानस्थित भारतीय दूतावासको समन्वयमा भइरहेको हो। दोहास्थित नेपाली दूतावासले उनीहरू उडान पर्खिरहेको जनाएको छ।
फर्किने नेपालीहरूमा उदयपुरका हरि थापा, उत्सव थापा, गायत्री कार्की र लुम्बिनी प्रदेशका विष्णु भुसाल, बुद्धि भुसाल, सागर पौडेल, सुमन गैरे, यज्ञ मरासिनी, गणेश पोखरेल र राजु खनाल रहेका छन्।
उनीहरू तेहरानबाट झण्डै ९५० किलोमिटर टाढाको मसद सहर सडकमार्ग हुँदै झण्डै ११ घण्टाको यात्रापछि पुगेका हुन्। भारतले इरानमा रहेका नेपाली तथा श्रीलंकाली नागरिकलाई सहयोग गर्ने निर्णय गरेपछि उद्धार प्रक्रिया अघि बढाइएको हो।
तर, इरानमा केही नेपालीहरू जेलमा रहेका कारण उनीहरूको उद्धार तत्काल सम्भव नभएको दूतावासले जनाएको छ। अधिकांश नेपाली इरानमा भान्से तथा अन्य कामको शिलशिलामा पुगेका थिए।