
फाइल फोटो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आफूले इजलासमा सँगै बस्ने अन्य न्यायाधीशहरूलाई निर्देशन दिन नसक्ने स्पष्ट पारेका छन्।
काठमाडौंमा शनिबार आयोजित पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै उनले सबै न्यायाधीशले आफ्नो विवेकअनुसार फैसला गर्ने अधिकार भएको बताए।
‘न्यायपालिकामा सबैले आफ्नो सोचअनुसार निर्णय गर्छन्, त्यसलाई सम्मान गर्नुपर्छ,’ उनले भने, ‘प्रधानन्यायाधीश भएर पनि म अरूलाई आदेश दिन सक्दिन।’
कार्यक्रममा उनले केही दिनअघि सर्वोच्च अदालतमा भएको फैसलाको प्रसंग पनि उल्लेख गरे। चार दिनअघि सर्वोच्च अदालतको संवैधानिक इजलासले ५२ जना संवैधानिक पदाधिकारीहरूको नियुक्ति संविधानसम्मत भएको फैसला सुनाएको थियो। सो फैसलामा राउतसहित दुई न्यायाधीश अल्पमतमा परेका थिए।
राउतले आफूले न्यायपालिकाको जिम्मा लिएको र अझै पनि त्यही दृढतामा अडिएको बताए। साथै, आफ्नो नियतमा शंका नगर्न सबैलाई आग्रह गरे।
कार्यक्रममा उनी अरू विषयमा बोल्न गएका भए पनि न्यायपालिका सम्बन्धी कुरा उठेपछि त्यसबारे स्पष्ट पार्नुपरेको उनले बताए।