काठमाडाैं, साउन १० :

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेपाल र भारतबीच सुपुर्दगी सन्धि हुन लागेको दाबी गर्दै त्यसले नेपालको राष्ट्रियतामाथि गम्भीर असर पुर्‍याउन सक्ने चेतावनी दिएका छन्।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै खनालले नेपालले भारत र चीनसँग सन्तुलन कायम नगरी सुपुर्दगी सन्धि गर्ने हो भने त्यो नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितमाथि अर्को हमला हुने बताए।

‘नेपाल–भारत सुपुर्दगी सन्धि हुँदैछ भन्ने कुरा सुनिएको छ,’ भन्दै उनले यसबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरे।

खनालले कोसी उच्च बाँधको प्रस्तावबारे पनि जनतालाई जानकारी दिनुपर्ने बताए। सारदा, गण्डक र टनकपुर सम्झौताबाट नेपालले अपेक्षित लाभ नपाएको उल्लेख गर्दै उनले अब कुनै पनि जलस्रोतसम्बन्धी ठूला परियोजना बनाउँदा राष्ट्रिय हित सुनिश्चित हुनुपर्नेमा जोड दिए।

उनले राजनीतिक दलहरूलाई पनि यस्ता विषयमा सचेत रहन आह्वान गर्दै राष्ट्रियताका संवेदनशील मुद्दामा व्यापक बहस र पारदर्शिता आवश्यक रहेको बताए।