
विशेषगरी आख्यानमा कलम चलाउने साहित्यकार मालिका केशरीका दुङाल, सुवर्णलता र पुनरुत्थान उपन्यास प्रकाशित छन् । साहित्यकार केशरीसँगको साहित्यिक वार्तालाप ।
साहित्यमा तपाईंको पहिलो पाइला कसरी सुरु भयो ?
म बाल्यकालमै शब्दसँग आकर्षित थिएँ । घरमा किताब, कविताको माहोल खासै थिएन तर मेरो भित्री आवाजले लेखन तिर डोर्यायो । स्कुलमा साना कविता लेख्दा नै साथीहरूले उत्साह दिन्थे, त्यही हौसला नै पहिलो पाइला बन्न पुग्यो ।
तपाईंलाई प्रेरित गर्ने मुख्य शक्ति के हो ?
जीवनका पीडा र सुन्दरता दुवै । म साधारण मानिसमा असाधारण संघर्ष र सपना देख्छु, अनि त्यो देखाइलाई शब्दमा उतार्छु । कहिलेकाहीँ प्रकृतिको मौनता, कहिलेकाहीँ समाजको हलचल नै प्रेरणादायी बनिदिन्छ ।
तपाईंका कृतिहरूमा महिला पात्रहरू प्रखर रुपमा देखिन्छन् । यसको पछाडि के सोच छ ?
महिला केवल पीडित वा मौन पात्र मात्र होइनन्, उनीहरू सृजनात्मक शक्ति र संघर्षशील आत्मा हुन्, उनीहरु सहनशिलताको तहभन्दा पर पुगेर सहन सक्छन् भने दुर्गा बनेर बिस्फोट पनि हुनसक्छन् भन्ने लाग्छ । मैले यही सत्य नै देखाउन खोजेको हुँ । म् महिलाको आवाजलाई साहित्यमा बलियो बनाउन चाहन्छु, किनकि त्यो आवाज समाज परिवर्तनको मूल आधार हो ।
नयाँ पुस्ताका पाठकलाई तपाईंको लेखनले के सन्देश दिन्छ ?
पाठकले आफ्नै अनुहारलाई मेरो पात्रहरूमा देखून् भन्ने चाहना हुन्छ । मेरो सन्देश स्पष्ट छ– जीवन चाहे जति कठिन किन नहोस्, आत्मबल र प्रेमले नयाँ बाटो निमार्ण हुन्छ । नयाँ पुस्ताले निराश नभई सिर्जनशीलता र सकारात्मकताको बाटो रोजून् भन्ने मेरो आग्रह छ ।
तपाईंको दृष्टिमा आजको नेपाली साहित्य कस्तो छ ?
आजको साहित्य धेरै रंगीन बगैँचा जस्तै छ । विभिन्न विचार, स्वरूप र शैली एकैसाथ फुलिरहेका छन् । तर चुनौती पनि छ । बजारवादले कहिलेकाहीँ गहिराइलाई ओझेल पार्छ । त्यसैले लेखकले आफ्नो उत्तरदायित्वलाई सदैव स्मरण गर्नुपर्छ ।
तपाईंलाई आगामी दिनमा पढ्न चाहने पाठकले के–कस्तो नयाँ सिर्जना देख्न पाउनेछन् ?
म हाल नयाँ उपन्यासमा काम गर्दैछु, जसमा मेरा पूर्व कृतिभन्दा फरक विषबस्तु र दृष्टिकोण केलाउने प्रयासमा छु । साथै, एउटा कथा संग्रहको पनि तयारीमा छ । मेरो चाहना, पाठकसँग अझ नजिक भएर उनीहरूको जीवनसँग जोडिनु हो ।
अन्त्यमा, तपाईंका लागि ‘साहित्य’ के हो ?
साहित्य मेरो लागि श्वास जस्तै हो । जसरी श्वास बिना जीवन सम्भव छैन, त्यस्तै शब्द बिना मेरो अस्तित्व अधुरो हुन्छ ।