
जनता समाजवादी पार्टी (जसपा) नेपालका सिराहा ३ का उम्मेदवार अशेश्वर यादव र नेपाल कम्युनिस्ट पार्टी नेकपाका पर्सा २ का उम्मेदवार मनोज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
मौन अवधिका बेला जसपा नेपालका उम्मेदवार यादव नगदसहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिराहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई गए राति करिब १२:३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकेको थियो ।
जाँचका क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएको थियो । त्यसपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
यसैगरी नेकपाका पर्सा २ का उम्मेदवार मनोज चौधरीलाई नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रबाट पक्राउ गरिएको हो ।
चौधरी सवार गाडी रोकेर चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
गाडीमा केही शंकास्पद वस्तु पनि फेला परेको थियो ।