काठमाडौं, वैशाख १४ :

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले हिजो विज्ञप्ति जारी गरी आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिनुभयो ।

उक्त बैठकमा सहभागी हुनका लागि समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोध गरिएको छ । उक्त बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र त्यहीँबाट नाम टुङ्ग्याउने तयारी गरिएको छ ।

कार्यसम्पादन समितिको लगत्तै दिउँसो १ बजे संसदीय दलको बैठक बस्नेछ । निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीका अनुसार दलको बैठकले नेता चयन सम्बन्धी प्रक्रियालाई अन्तिम रूप दिने र अनुमोदन गर्ने कार्यसूची रहेको छ ।
  
अनुशासन समिति बैठक

यसैबीच आज नै कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ ।

केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापामगरले एक सूचना जारी गरी आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएको जानकारी दिए । बैठकमा गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेका र तिनका समर्थक र प्रस्तावकहरू विरुद्ध परेका उजुरीमाथि छलफल हुनेछ ।

त्यस्तै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रामेछाप सभापति कान्छाराम तामाङलाई सोधिएको स्पष्टीकरणका सम्बन्धमा पनि आजको बैठकले आवश्यक निर्णय लिने बताइएको छ ।