
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पछिल्लो तीन महिनामामात्रै एक हजार ४ सय ५२ सहकारी बचतकर्ताहरूको रकम फिर्ता गरिएको बताइन् ।
बुधबार संसदमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री रावलले पछिल्लो तीन महिनामा आठवटा समस्याग्रस्त सहकारीका रुजु भएका दस हजार वा सोभन्दा मुनिका १ हजार ४ सय ५२ साना बचतकर्ताहरूको रु ५९ लाख ४ हजार ६ सय बचत फिर्ता गरिएको जानकारी दिइन् । साथै तीन महिनामा तीन करोड ५४ लाख ४९ हजार रूपैयाँ ऋण असुली भइसकेको उहाले बताइन् ।
उक्त रकम सम्बन्धित संस्थाका सञ्चालक, व्यवस्थापक, लेखा समिति, ऋण उपसमितिका पदाधिकारी तथा निजहरूको एकाघर परिवारका सदस्यहरूको सम्पत्ति र बैंक खाता रोक्का र सहकारी संस्थाको सम्पत्तिबाट व्यवस्थापन गरिएका मन्त्री रावलले जानकारी दिइन् । उनले सहकारीको क्षेत्रमा व्यथिति सम्बन्धी अध्ययन गर्न गठित आयोगले समेत विगतका वर्षहरूमा प्रभावकारी अनुगमन र नियमनको अभाव तथा भावी कार्यक्षेत्र विस्तार सेवा केन्द्रको थप विषय औंल्याएको उल्लेख गरिन् ।
उनले वर्तमान सरकारले यस समस्याको दीर्घकालीन समाधान तथा बचतकर्ताहरूलाई यथाशीघ्र राहत उपलब्ध गराउने उद्देश्यका साथ काम अगाडि बढाइसकेको जिकिर गरिन् ।
समस्याग्रस्त सहकारी मात्र नभई देशका अन्य सहकारीको प्रभावकारी अनुगमन कार्य पनि छिट्टै सुरु गर्न लागिएको उनले बताईन् । त्यसैगरी मन्त्री रावलले निजामती कर्मचारीको उमेर हदका सम्बन्धमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तमा सम्बन्ध शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मस्यौदा रायका लागि कानून मन्त्रालयमा पठाइएको जानकारी दिइन् ।