काठमाडौं, असार ५ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक आजदेखि काठमाडौँमा सुरु हुँदैछ।

धुम्बाराहीस्थित एक क्याटरिङमा बिहान साढे ११ बजेदेखि बैठक सुरु हुन लागेको बैठकका विषयमा पार्टीभित्रै विवाद देखिएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले विधानविपरीत अनधिकृत व्यक्तिहरूलाई बैठकमा आमन्त्रण गरेको भन्दै पार्टीभित्रको एउटा समूहले बैठक बहिष्कार गर्ने तयारी गरेको बताईएको छ ।

बैठकमा गत फागुन २१ गते सम्पन्न निर्वाचनमा उम्मेदवार बनेका सबै व्यक्तिहरूलाई सहभागी गराउन लागिएपछि विवाद उत्पन्न भएको हो । यस्तै एकता प्रक्रियाबाट आएका कमल थापा पक्षका ६५ जनालाई पनि सहभागी गराउन लागिएको छ।  

केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य बाहेकका अन्यलाई सहभागी गराउनु सर्वमान्य सिद्धान्त र पद्धति विपरीत रहेको असन्तुष्ट पक्षको भनाइ छ ।

हिजो बसेको कार्यसम्पादन समितिको बैठकमा उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाही, सदस्य अर्जुन राई तथा पूर्व अध्यक्षत्रय कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबराले यस विषयमा अध्यक्ष लिङ्देनको ध्यानाकर्षण गराएका थिए।