काठमाडौं, साउन २८ :

जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको तत्काल रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले जिल्ला प्रहरी परिसरका काठमाडौँ अगाडि धर्ना दिएको छ।

बुधबार राति ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरी काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखेका पत्रकार श्रेष्ठको रिहाइको माग गर्दै महासंघले बिहीबार प्रहरी परिसर अगाडि धर्ना दिएको हो। 

धर्नामा सहभागीले ‘पत्रकार तर्साएर प्रेसको मुख थुन्ने प्रयास असम्भव’, ‘प्रेस स्वतन्त्रता पुनर्बहाली गर’, पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहाइ गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका छन्।

महासंघले समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाउँदै समाचारमा चित्त नबुझे कानुनी तथा प्रेससम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोज्न महासंघले आग्रह गरेको छ।

पत्रकारलाई निर्भिक रूपमा समाचार लेख्ने र प्रकाशित गर्ने वातावरण बनाउन महासंघले माग गरेको छ।