काठमाडौँ, साउन १९ : काठमाडौँ महानगरपालिका–११ थापाथलीमा आज भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
माइतीघरबाट थापाथलीतर्फ जाँदै गरेको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको पानी ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार ६२ वर्षीय सरस्वती तुलाधरको मृत्यु भएको हो ।
ट्याङ्करको ठक्करबाट घाइते उहाँको उपचारका क्रममा नर्भिक इन्टरनेसनल अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
घट्टेकुलो निवासी मोटरसाइकलका चालक ६९ वर्षीय ध्रुवराज तुलाधर घाइते हुनुभएको छ । ठक्कर दिने ट्याङ्करका चालक धादिङ गजुरीका रामकुमार तामाङलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।