काठमाण्डौँ , कात्तिक १२ :

गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपालीले नेपालको राष्ट्रियता बलियो बनाएको बताउनुभएको छ । 

गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारणसभा कार्यक्रममा आज बिहान बोल्दै गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नेपालका अवैतनिक राजदूत भएको बताउनुभयो ।

“नेपालका लागि केही गर्ने उद्देश्य राख्नुभएको छ । जुन देशको नागरिक भए पनि नेपाली हुँ भनिराख्नुभएको छ”, उहाँले भन्नुभयो, “गैरआवासीय नेपाली अवैतनिक राजदूत हुनुहुन्छ । तपाईंहरू रहेको देशमा तपाईंको अनुहार र व्यवहारमा नेपाल देख्छन् । तपाईंहरू संसारभर फैलिँदा नेपालको राष्ट्रियता थप बलियो बनाएको छ ।”

उहाँले गैरआवासीय नेपालीको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सम्बोधन गर्न सरकार कानुन संशोधनको तयारीमा रहेको जानकारी दिनुभयो ।

यसैगरी गैरआवासीय नेपाली सङ्घ (एआरएनए)का अध्यक्ष डा बद्री केसीले लगानीमैत्री वातावरण भए गैरआवासीय नेपाली नेपालमा लगानी गर्न उत्सुक रहेको बताउनुभएको छ । 

उहाँले गैरआवासीय नेपालीहरूलाई नागरिकता उपलब्ध गराएर लगानीका लागि सहज वातावरण मिलाएमा आगामी दिनमा अझै बढी नेपालमा लगानी भित्रने उल्लेख गर्नुभयो ।

आफूहरू एकताको विरोधी नभएको भन्दै उहाँले सबैलाई मिलेर अगाडि बढ्दै एनआरएनएको उद्देश्य पूरा गर्न एकजुट हुनुपर्नेमा केसीको जोड रहेको छ ।

उपाध्यक्ष डा हेमराज शर्माले नेपालको समृद्धिका लागि एनआरएनएले महत्वपूर्ण भूमिका खेल्ने भन्दै एनआरएनएलाई सहज रुपमा नागरिकता उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ । 

पूर्वअध्यक्ष उपेन्द्र महतोले एनआरएनएमा देखिएका विवादको समाधान गरेर सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभएको छ ।