
अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको सीमास्थल साँगादेखि धुलिखेलसम्म सडक विस्तारका क्रममा विद्युत् व्यवस्थापनमा कठिनाइ उत्पन्न भएको छ । सडक किनारामा खम्बा गाड्दा विद्युत् लाइन घर नजिक हुने भएकाले विद्युत् व्यवस्थापनका लागि कठिनाइ भएको हो ।
हाल सडक विस्तार कार्य भइरहँदा धुलिखेलतर्फबाट विद्युत्का खम्बा धमाधम गाड्न सुरु गरि ‘एङ्गल’ राख्ने काम भैरहेको छ । यसपछि तार टाँगिनेछ । धुलिखेलतर्फबाट बुडोलसम्म खम्बा गाडीसकेपछि मुख्य बजार बनेपामा भने विद्युत् व्यवस्थापनमा समस्या देखिएको हो । सडक दायाँबायाँका घरका झ्यालमा विद्युत्का तार पुग्ने भएकाले व्यवस्थापनमा कठिनाइ देखिएको सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिवास सडक आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले जानकारी दिनुभयो ।
प्रमुख दासले बनेपा बजार क्षेत्रमा विद्युत्बाट कुनै पनि समस्या ननिम्त्याउन दीर्घकालीन समाधान खोजिरहेको बताउनुभयो ।
सूर्यविनायक-धुलिखेल सडकखण्ड पूर्वाधार निर्माणमा ८८ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ ।