म्याग्दी, साउन २१ :

म्याग्दीको मङ्गला गाउँपालिका-२ र्‍यालेखोरमा लिफ्ट प्रविधिबाट खानेपानी आयोजना निर्माण भएको छ । सौर्य ऊर्जाको प्रयोग गरेर र्‍यालेखोर बस्ती मुनीको मुहानबाट पानी तानेर घरघरमा धारा जडान गरी वितरण गरिएको हो । 

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मङ्गला गाउँपालिका र उपभोक्ताको साझेदारीमा उक्त आयोजना निर्माण भएको हो । आयोजना निर्माणमा प्राविधिक तथा आर्थिक सहयोग गरेको नेवाका प्राविधिक गोर्खबहादुर शाहीले मुहानबाट एक सय ९ मिटर माथि रहेको टङ्कीमा तानेर वितरणको व्यवस्था मिलाएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिसेकेण्ड दुई लिटरका दरले तानिएको पानी २४ वटा घर र त्रिभुवन मङ्गला माविमा निजी धारामार्फत वितरण गरिएको हो । 

रु ९२ लाख २४ हजार नौ सय ८७ को लगानीमा र्‍यालेखोर, खुुम्लीया र भाइवाङमा खानेपानी आयोजना निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष तेजिन्द्र आचार्यले बताउनुभयो ।